एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बलियो चेल्सी तुलनात्मक रुपमा कमजोर मानिएको एभर्टनसंग बराबरीमा रोकिएको छ ।
सनिवार राति भएको खेलमा लण्डन क्लब चेल्सीले एभर्टनमाथि दुईपटक अग्रता लिए तापनि २–२ गोलको बराबरीमा रोकिन पुगेको हो ।
स्ट्यामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि जाओ फेलिक्स र काइ हार्भाटेजले गोल गर्दा एभर्टनका लागि अबदौलाए दौकौरे र इलिस सिम्सले गोल गरे ।
रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ५२ औं मिनेटमा फेलिक्सले गोल गर्दै चेल्सीलाई १–० ले अघि बढाएका थिए ।
त्यसपछि ६९ औं मिनेटमा एभर्टनका दौकौरेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
७६ औं मिनेटमा हार्भाटेजले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई पुनः खेलमा २–१ ले अघि बढ्यो ।
खेलको अन्तिमतिर ८९ औं मिनेटमा सिम्सले गोल गर्दै भ्रमणकारी टोलीलाई महत्वपूर्ण १ अंक दिलाए ।
बराबरीसंगै चेल्सीले २७ खेलमा ३८ अंक जोड्दै लिग तालिकाको १० औं स्थानमा रहेको छ ।
एभर्टनको भने २८ खेलबाट २६ अंक भएको छ । एभर्टन तालिकाको १५ औं स्थानमा छ ।
सनिवार राति नै सम्पन्न अन्य खेलहरुमा टोटनहम हटस्पर साउटह्याम्टनसंग ३–३ गोलको बराबरीमा रोकिँदा लिड्स युनाइटेडले भने उल्भ्समाथि ४–२ को जित हात पार्यो ।
त्यस्तै, ब्रेन्टफोड र लेस्टर सिटीले १–१ को बराबरी खेल्दा एस्टनभिल्लाले बर्नमाउथमाथि ३–० को सहज जित निकालयो ।