भक्तपुर । नेपाल ओमानमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा हङकङ चाइनासंग पराजित भएको छ ।
सनिवार भएको खेलमा नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिँदा हङकङ चाइनासंग ४ विकेटले पराजित भएको हो ।
योसंगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट हुन असफल रह्यो ।
नेपालमाथि जित निकालेको हङकङ चाइनाले भने इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा १४० रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको हङकङ चाइनाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
हङकङको जितमा ओपनर ब्याट्सम्यान अनशुमन रथले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा बाबर हायातले २५ बल खेल्दै २ छक्का प्रहार गरेर २६ रन जोडेर आउट भए ।
त्यस्तै, अैजाज खानले १० बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किदा अर्का ओपनर यासिम मुर्ताजा र अदित गोरावारा समान ९–९, कप्तान निजाकत खान ३ र जिशान अली शुन्य रनमा आउट भए ।
यता, नसरुल्ला राणा ११ रनमा अविजित रहे ।
हङकङले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
नेपालका लागि सोमपाल कामीले ४ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए ।
त्यअसघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३९ रन जोड्यो ।
नेपालका लागि तल्लोक्रममा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन जोडेर अविजित रहँदा सुन्दिप जोराले २३ बल खेल्दै १ चौका प्रहार गरेर २२ रन जोडेर रनआउट भए ।
त्यस्तै, कप्तान रोहित पौडेलले १९ बलमा २ चौका प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा कुशल मल्लले १४ बल खेल्नेक्रममा १ छक्का प्रहार गरेर १३ रन जोड्दै पेविलियन फर्किए ।
यता, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ७ बलमा २ चौका प्रहार गर्दै १२ रन जोड्दै आउट हुँदा गुलशन झा ६ रनमा रनआउट भए ।
ओपनर ब्याट्सम्यान तथा विकेटकिपर आसिफ शेख ५, करण केसी ३ र अर्का ओपनर कुशल भुर्तेल शुन्य रनमा पेविलियन फर्किदा ललित राजबंशी २ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
हङकङ चाइनाका लागि आयुष शुक्लाले ३ ओभरमा १७ रन दिएर ३ विकेट लिँदा अटिक इकबाल, यासिम मुर्ताजा र इशान खानले समान १–१ विकेट लिए ।