एजेन्सी । जर्मनीमा जारी युरो कपअन्तर्गत खेलमा अल्बानियाले क्रोएसियालाई बराबरीमा रोकेको छ ।
बुधवार राति भएको खेलमा अल्बानिया बलियो प्रतिद्वन्दी क्रोएसियालाई २–२ को बराबरीमा रोकेको हो ।
ह्यामबर्गस्थित भोल्क्सपार्कस्टाडन रंगशालामा भएको खेलमा अल्बानियाका लागि क्वाजिम लासी र क्लाउस जासुलाले गोल गरे ।
क्रोएसियाका लागि भने आन्ड्रेज क्रामारिकले एक गोल फर्काउँदा अल्बानियाका जासुलालले नै एक आत्मघाती उपहार दिए ।
खेल सुरु भएको ११ औं मिनेटमा जसिर असानीको पासमा लासीले गोल गर्दै अल्बानियालाई सनसनी सुरुवाती अग्रता दिलाए ।
त्यसपछि निरन्तर खेलमा फर्किन संर्घषरत क्रोएसियाले दोस्रो हाफको ७४ औं मिनेटमा अन्टे बुडिमिरको असिस्टमा क्रामारिकले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसको दुई मिनेटपछि नै ७६ औं मिनेटमा जासुलाले आत्मघाती गोलमा क्रोएसिया २–१ ले अघि बढ्यो ।
तर, खेलको अन्त्यतिर इन्जुरी समयको पाँचौं मिनेटमा जासुलाले नै गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
बराबरीसंगै दुबै टोलीले अंक बाँधेका छन् ।
समूह ‘बी’ मा दुई खेलबाट एक अंकसहित अल्बानिया तेस्रो स्थानमा रहँदा समान खेलमा समान अंक भएको क्रोएसिया तालिकाको पुच्छारमा रहेको छ ।