
एजेन्सी । सेनेगलले अफ्रिकी फुटबलको शीर्ष प्रतियोगिता अफ्रिका कप अफ नेसन्सअन्तर्गत खेलमा क्यामरनमाथि सहज जित हासिल गरेको छ ।
शुक्रवार राति भएको खेलमा साविक विजेतासमेत रहेको सेनेगलले क्यामरनमाथि ३–१ को सहज जित हासिल गरेको हो ।
आइभरी कोस्टको स्टेड चार्लिस कोनान बान्ने डि यामौस्सौक्रो रंगशालामा भएको खेलमा साविक विजेता राष्ट्रलाई जित दिलाउन साडिओ माने, इस्माइला सर र हाबिब डियालोले समान एक–एक गोल गरे ।
उता पराजित क्यामरनका लागि भने जिन चार्लिस कास्टेल्लेट्टोले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको १६ औं मिनेटमा पापे माटर सरको पासमा इस्माइला सरले गोल गर्दै सेनेगललाई खेलमा सुरुवाती अग्रता दिलायो ।
त्यसपछि दोस्रो हाफको ७१ औं मिनेटमा इस्माइला सरको असिस्टमा हाबिब डियालोले गोल थप्दा सेनेगाल २–० ले अघि बढ्यो ।
तर, ८३ औं मिनेटमा ओलिभर एनच्यामको पासमा जिन चार्लिस कास्टेट्टोले क्यामरनका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
यता, निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पाँचौं मिनेमा इड्रिसा गुइएको असिस्टमा साडियो मानेले गोल थप्दा सेनेगाल ३–१ ले विजयी भयो ।
सहज जितसंगै समूह ‘सी’ मा रहेको सेनेगलले २ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।
योसंगै साविक विजेता राष्ट्र एक खेल अगावै समूह चरणका एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।
उता, पराजित क्यामरनको भने २ खेलमा १ मा हार र १ मा बराबरीको नतिजासहित १ अंकका साथ तालिकाको तेस्रो स्थानमा झरेको छ ।
गयराति नै सोहि समूहको अर्को खेलमा गुइनेयाले गाम्बियामाथि १–० को जित निकाल्यो ।
जितसंगै गुइनेयाले २ खेलमा १ मा बराबरी र १ मा जित निकाल्दै ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित गाम्बियाले भने खेलेको दबै खेलमा हार बेहोर्दै शुन्य अंकका साथ तालिकाको पुच्छारमा रहेको छ ।