भक्तपुर । क्यानडा ११ विरुद्वको एकदिवसिय सिरिज (ओडिआई सिरिज) अन्तर्गत अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
विहिवार भएको खेलमा घरेलु टोली नेपाल ‘ए’ भ्रमणकारी टोली क्यानडा ११ संग ४ विकेटले पराजित भएको हो ।
योसंगै ३ खेलको ओडिआई सिरिज क्यानडा ११ ले २–१ ले जितेको छ ।
काठमाडौंको मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १८२ रनको मध्यम विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको क्यानडा ११ ले ३८.५ ओभर खेल्नेक्रममा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
क्यानडाका लागि निकोलास क्रिटनले ७९ बलमा ६ चौका प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान आरोन जोनसनले ३१ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरेर ४२ रन जोड्दै पेविलियन फर्कियो ।
त्यस्तै, नभनित धलिवालले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोडेर आउट हुँदा निखिल दत्तले ३५ बलको सामना गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।
यता, विकेटकिपर श्रीमान्थ विजयारत्नेले ११ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा दिलप्रित बाज्वाले १९ बल खेल्दै २ चौका प्रहार गरेर ११ रन जोड्नेक्रममा आउट भए ।
कप्तान साद बिन जफर १ रनमा अविजित रहँदा हर्ष थाकेर २ रनमा पेविलियन फर्किए ।
क्यानडाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
नेपालका लागि साहब आलमले १० ओभर बलिङ गर्दै ३५ रन दिएर सर्वाधिक ४ विकेट लिँदा शेर मल्ल र बसिर अहमेदले समान १–१ विकेट लिए ।
त्यसअघि टस हार्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभर खेल्नेक्रममा अलआउट हुँदै १८१ रन जोड्यो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष धिरैयाले ४३ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै २८ रन जोड्दा अर्का ओपनर तथा विकेटकिपर अर्जुन कुमालले ५३ बलमा २ चौका प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान सन्दिप जोराले २८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोड्दै पेविलियन फर्किदा बसिर अहमेदले ४० बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २५ रन जोड्दै गर्दा रनआउट भए ।
यता, सुजन थपलियाले ५१ बलमा १ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा राशिद खानले २५ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
प्रतिश जिसीले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर आउट हुँदा हेमन्त धामी ६ रनमा पेविलियन फर्किए ।
सागर ढकाल १ रनमा अविजित रहँदा शेर मल्ल र शाहब आलम शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १२ रन जोड्यो ।
क्यानडाका लागि डिलन हेलियर, हर्ष थाकेर र निकोलास क्रिटनले समान २–२ विकेट लिँदा कप्तान साद बिन जफर र कलिम सानाले १–१ विकेट लिए ।