
भक्तपुर । काठमाडौंमा जारी नेपाल र क्यानडाबीचको ३ खेलको एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज (नेपाल क्यानडा ब्याटरियल सिरिज) अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपालसमक्ष जितका लागि २३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेको नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेसंगै क्यानडाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २३२ रन जोड्यो ।
क्यानडाका लागि नभनित धलिवालले ८२ बलमा ५ चौका प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दा निखिल दत्त ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४५ रन जोड्नेक्रममा रनआउट भए ।
त्यस्तै, कप्तान साद बिन जफरले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन जोडेर अविजित रहँदा हर्ष थाकेरले ५७ बलको सामना गर्दा २ चौका प्रहार गर्दै २९ रन बनाएर पेविलियन फर्किए ।
यता, विकेटकिपर श्रेयास मोभ्भाले २९ बलमा १ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा श्रीमन्थ विजयरत्नेले २८ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।
ओपनर ब्याट्म्यान आरोन जोन्सन र डिल्लन हेलिगर समान ४–४ रनमा पेविलियन फर्किदा निकोलास क्रिटन ३ रनमा आउट भए ।
उता, साहिद अहमदजायी भने ५ रनमा अविजित रहे ।
क्यानडाले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
नेपालका लागि डेब्यु खेल खेलिरहेका हेमन्थ धामीले ८ ओभर बलिङ गर्नेक्रममा ४९ रन खर्चिएर ३ विकेट लिँदा कुशल मल्लले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ३८ रन दिँदै २ विकेट लिए ।
यता, ललित राजबंशी र आकाश चन्दले समान १–१ विकेट लिए ।