एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत खेलमा ब्राजिल र कोलम्बियाले बराबरी खेलेका छन् ।
बुधवार विहान भएको खेलमा ब्राजिल र कोलम्बियाले १–१ गोलको बराबरी खेलेका हुन् ।
बराबरीसंगै दुबै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
क्यालिफर्नियाको सान्ता क्लारास्थित लेभिस स्टेडियममा भएको खेलमा ब्राजिलका लागि राफिन्हा र कोलम्बियाका लागि ड्यानियल मुनोजले गोल गरे ।
दुबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेल सुरु भएको १२ औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए ।
तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जोन कोरडोबाको असिस्टमा मुनोजले कोलम्बियाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल भएन र खेल १–१ को बराबरीमा सकियो ।
बराबरीसंगै समूह ‘डी’ मा कोलम्बियाले दुई खेलमा जित र एकमा बराबरीसहित ७ अंक जोडेर समूह विजेता बन्यो ।
ब्राजिलको भने समान तीन खेलमा एकमा जित र दुईमा बराबरीसहित ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहँदै उपविजेता बन्यो ।
आज विहानै भएको सोहि समूहको अर्को खेलमा भने कोस्टारिकाले पाराग्वेमाथि २–१ को जित निकाल्यो ।
दुबै टोली भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।