एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा ४८ औं संस्करणको कोपा अमेरिकामा मेक्सिकोले जित निकालेको छ ।
आईतवार विहान भएको दोस्रो खेलमा मेक्सिकोले जमैकामाथि १–० को जित निकालेको हो ।
टेक्सासको हौस्टनस्थित एनआरजी स्टेडियममा भएको खेलमा मेक्सिकोलाई जिताउन जेरार्डो अर्टेगाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६९ औं मिनेटमा लुइस रोमोको पासमा अर्टेगाले गोल गर्दा मेक्सिको १–० ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै समूह ‘बी’ रहेको मेक्सिकोले ३ अंक जोडेको छ ।
त्यसअघि आजै विहान भएको पहिलो खेलमा भेनेजुएलाले इक्वेडरमाथि २–१ को पुनरागमन जित हासिल गर्यो ।
भेनेजुएलाको जितमा जोनडेर काडिज र इडुवार्ड बेल्लोले गोल गरे ।
यता, इक्वेडरका लागि भने जेरेमी सारमेन्टोले एक गोल गरे ।
क्यालिफर्नियास्थित लिभाइस स्टेडियममा भएको खेलमा २२ औं मिनेटमा इन्नेर भ्यालेन्सियाले रातो कार्ड पाउँदा इक्वेडर १० खेलाडीमा समेतियो ।
तर, ४० औं मिनेटमा सारमेन्टोको गोलमार्फत् इक्वेडरले खेलमा १–० को अग्रता लियो ।
यता, दोस्रो हाफको ६४ औं मिनेटमा सलोमोन रोन्डनको पासमा काडिजले भेनेजुएलाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ७४ औं मिनेटमा बेल्लोले गोल थप्दा भेनेजुएला २–१ ले विजयी भयो ।
पुनरागमन जितसंगै भिनेजुएलाले समूह ‘बी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।