
एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत खेलमा भेनेजुएलाले मेक्सिकोमाथि जित हासिल गरेको छ ।
विहिवार विहान भएको खेलमा भेनेजुएलाले मेक्सिकोमाथि १–० को जित नकालेको हो ।
क्यालिफर्नियाको लस एन्जलसस्थित सोफी स्टेडियममा भएको खेलमा भेनेजुएलाको जितमा सलोमन रोनडनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५७ औं मिनेटमा भेनेजुएलाले पेनाल्टी पायो ।
जसमा रोनडनले गोल गर्दै भेनेजुएलाले १–० को अग्रता लियो ।
यता, खेलको अन्त्यतिर मेक्सिकोले पनि खेल बराबरीमा ल्याउने सुनौलो अवसर प्राप्त गर्यो ।
तर, प्राप्त पेनाल्टीमा ओर्बेलिन पिनेडा चुक्न पुग्दा मेक्सिको खेलमा फर्कन सकेन ।
र, खेल भेनेजुएलाले १–० ले जित्यो ।
महत्वपूर्ण जितसंगै भेनेजुएलाले समूह ‘बी’ मा २ खेलबाट शतप्रतिशत जितका साथ ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रह्यो ।
योसंगै भेनेजुएलाले समूह चरणमा १ खेल खेल्न बाँकी रहेको अवस्थामै क्वाटरफाइनल यात्रा सुनिश्चित गरेको छ ।
पराजित मेक्सिकोको भने समान २ खेलमा १ मा जित र १ मा हारको नतिजा सहित ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
सोहि समूहको आज विहानै भएको अर्को खेलमा इक्वेडरले जमैकामाथि ३–१ को जित निकालेको छ ।
लास भेगासको नेभाडास्थित एलिगेन्ट स्टेडियममा भएको खेलमा इक्वेडरलाई जिताउन केन्ड्रे पेज र अलान मिन्डाले गोल गर्दा अर्को एक गोल जमैकाका कासे पाल्मरको आत्मघातीमार्फत् प्राप्त गर्यो ।
पराजित टोलीका लागि भने माइकल एन्टोनियोले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको १३ औं मिनेटमा पाल्मरको आत्मघाती गोलमार्फत् इक्वेडरले सुरुवाती अग्रता लियो ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको चौथौं मिनेटमा पेजले गोल गर्दै इक्वेडरलाई २–० ले अघि बढाए ।
यता, जमैकाका एन्टोनियोले ५४ औं मिनेटमा गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याए ।
तर, खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा मिन्डाले गोल गर्दा इक्वेडर ३–१ ले विजयी भयो ।
सहज जितसंगै इक्वेडरले २ खेलबाट ३ अंक जोड्दै समूह तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
मेक्सिकोसंग अंक बराबर भएतापनि गोलअन्तरका आधारमा इक्वेडर दोस्रो स्थानमा उक्लेको हो ।
पराजित जमैकाले भने २ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।