एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकामा पाराग्वेमाथि ब्राजिलले जित निकालेको छ ।
सनिवार विहान भएको खेलमा उपाधि दाबेदार ब्राजिलले पाराग्वेमाथि ४–१ को फराकिलो जित निकालेको हो ।
जारी प्रतियोगितामा ब्राजिलको यो पहिलो जित हो ।
त्यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिल कोस्टारिकासंग गोलरहित बराबरीमा रोकिएको थियो ।
लास भेगासको नेभाडास्थित एलिगेन्ट स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन भिनिसियस जुनियरले दुई गोल गर्दा साभियो र लुकास पक्वेटाले एक–एक गोल गरे ।
पराजित पाराग्वेका लागि भने ओमार अलडेरेटेले सान्तोना गोल फर्काए ।
पहिलो हाफको ३१ औं मिनेटमा पक्वेटा पेनाल्टीमा चुक्दा ब्राजिलले सुरुवाती अग्रता लिने सुनौलो अवसर खेर फाल्यो ।
तर, त्यसको चार मिनेटपछि नै ३५ औं मिनेटमा पक्वेटाको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई १–० ले अघि बढाए ।
त्यसपछि ४३ औं मिनेटमा साभियोले गोल थप्दा ब्राजिल २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा भिनिसियसले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा ब्राजिल पहिलो हाफसम्ममा ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
दोस्रो हाफ सुरु भए लगत्तै ४८ औं मिनेटमा ओमारले गोल पाराग्वेका लागि गोल गर्दा खेल ३–१ को अवस्थामा आयो ।
तर, ६५ औं मिनेटमा पक्वेटाले पेनाल्टीमा गोल गर्दा ब्राजिल ४–१ ले अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र ब्राजिल बिजयी भयो ।
फराकिलो जितसंगै ब्राजिलले समूह ‘डी’ मा दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
पाराग्वेले भने समान दुई खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।