एजेन्सी । उरुग्वेले कोपा अमेरिकामा पानामामाथि सहज जित हासिल गरेको छ ।
सोमवार विहान भएको दोस्रो खेलमा उरुग्वेले पानामामाथि ३–१ को जित हासिल गरेको हो ।
संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको खेलमा उरुग्वेलाई जिताउन म्याक्सिमिलियानो अरौजो, डार्विन नुनेज र माटियास भिनाले समान एक–एक गोल गरे ।
पराजित पानामाका लागि भने माइकल मुरिल्लोले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको १६ औं मिनेटमा भिनाको पासमा अरौजोले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ८५ औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेलाई २–० ले अघि बढाए ।
इन्जुरी समयको पहिलो मिनेटमा निकोलास दि ला क्रुजको पासमा भिनाले गोल थप्दा उरुग्वे ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
तर, इन्जुरी समयको चौथौं मिनेटमा फ्रेड्डी गोनडोलाको पासमा मुरिल्लोले पानामाका लागि सान्तोना गोल फर्काउँदा खेल ३–१ ले सकियो ।
सहज जितसंगै उरुग्वेले समूह ‘सी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।
त्यसअघि आजै विहान भएको पहिलो खेलमा आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकाले बोलिभियामाथि २–० को सहज जित निकाल्यो ।
टेक्सासस्थित एटी एन्ड टी स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिस्टियन पुलिसिक र फोलारिन बालोगनले गोल गरे ।
खेल सुरु भएको तेस्रो मिनेटमा टिम वेहाको पासमा पुलिसिकले गोल गर्दा घरेलु टोली १–० ले अघि बढ्यो ।
त्यसपछि पहिलो हाफको अन्त्यतिर ४४ औं मिनेटमा पुलिसिकको पासमा बालोगनले गोल थप्दा अमेरिका २–० ले अघि बढ्यो ।
दोस्रो हाफमा दुबै टोलीबाट थप गोल निस्किएन ।
सहज जितसंगै अमेरिकाले समूह ‘सी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।