एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकामा उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ ।
आईतवार विहान भएको खेलमा क्यानडामाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै उरुग्वेले तेस्रो स्थान हासिल गरेको हो ।
नर्थ क्यालोरिनास्थित ब्यांक अफ अमेरिका स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइयो ।
उरुग्वेलाई जित दिलाउन फेडेरिको भालभार्डे, रोड्रिगो बेनटेनकुर, जियोर्जियन दि अराकाएटा र लुइस सुवारेजले गोल गरे ।
यता क्यानडाका लागि भने जोनाथन डेभिड, मोइसे बोमबिटो र माथिउ चोइनिरेले गोल गर्दा इस्माइल कोने र अल्फान्सो डाभिस भने चुक्न पुग्यो ।
त्यसअघि खेल सुरु भएको ८ औं मिनेटमा सेबास्टाइन कासेरेसको पासमा रोड्रिगो बेनटानकुरले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलायो ।
तर, २२ औं मिनेटमा क्यानडाका मोइसे बोमबिटोको पासमा इस्माइल कोनेले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि दोस्रो हाफको ८० औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दा क्यानडा खेलमा २–१ ले अघि बढ्यो ।
तर, खेलको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा जोसे गिमेनेजको पासमा सुरुवारेजले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
जारी कोपा अमेरिकाको सेमिफाइनलमा हारेका दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो ।