
एजेन्सी । इन्टर मियामीले कोनकाकाफ च्याम्पियन्स कपको खेलमा नाश्भेलसंग बराबरी खेलेको छ ।
शुक्रवार विहान भएको अन्तिम १६ अन्तर्गत पहिलो लेग खेलमा इन्टर मियामीले नाश्भेलसंग २–२ को बराबरी खेलेको हो ।
नाश्भेलको घरेलु मैदान जियोडिस पार्क रंगशालामा भएको खेलमा दुई गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै मियामीले बराबरी खेल्यो ।
खेल सुरु भएको चौथौं मिनेटमा शक मोरेको असिस्टमा जाकोब शफेल्बर्गले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४६ औं मिनेटमा सिन डाभिसको असिस्टमा शफेल्बर्गले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा नाश्भेल २–० ले अघि बढ्यो ।
तर, ५२ औं मिनेटमा मियामीका लुइस सुवारेजको पासमा लियोनल मेसीले गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको पाँचौं मिनेटमा मियामीका सर्जियो बस्क्वेटको पासमा सुवारेजले गोल फर्काउँदा खेल २–२ को बराबरीमा सकियो ।