
भक्तपुर । विभागिय डर्बी खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै नेपाल पुलिस क्लब दोस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतवार भएको दोस्रो खेलमा चिरपरिचित विभागिय प्रतिद्वन्दी त्रिभुवन आर्मी फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै नेपाल पुलिस क्लब केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
हारसंगै त्रिभुवन आर्मी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भएको हो ।
पुलिसको जितमा गोलकिपर अमित तमाता नायक सावित भए । अमितले आर्मीको दुई पेनाल्टी छेके ।
त्यस्तै, उज्वल राई, हेमन्त श्रेष्ठ, प्रताप र आशिष राईले पुलिसका लागि पेनाल्टीमा गोल गर्दा कप्तान रामचन्द्र वाजीको प्रहार भने पोष्टमा लाग्दै बाहिरियो ।
यता, आर्मीका लागि भरत खवास, कमल बहादुर थापा र फत्तेमान घलेले गोल गर्दा नवयुग श्रेष्ठ र भुपेन्द्र जंग राइमाझीको प्रहार भने पुलिसका गोलकिपरले बिफल पारे ।
त्यसअघि एन्फा कम्प्लेसमा भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्यो ।
एनआरटीको जितमा खेलको २८ औं मिनेटमा विवेक गुरुङले एकमात्र निर्णायक गोल गरे ।
महत्वपूर्ण जितसंगै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा थ्रीस्टार भने बाहिरिएको छ ।