
भक्तपुर । दिल्ली एफसीलाई पराजित गर्दै मानेभन्ज्याङ एफसी दोस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमवार भएको खेलमा दुबै आमन्त्रित भारतिय क्लबको भिडन्तमा दिल्ली एफसीलाई ३–१ ले पराजित गर्दै मानेभन्ज्याङ एफसी केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
हारसंगै दिल्ली एफसी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा डाजर्लिङ क्लब मानेभन्ज्याङको जितमा अनिसेट जिन्मभुमी, शोखरुख र स्याभिल्लेले गोल गरे ।
पराजित दिल्लीका लागि आर्यान अम्लाले एक गोल गरे ।
खेलको २७ औं मिनेटमा आर्यानले गोल गर्दै दिल्लीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ३५ औं मिनेटमा अनिसेटले मानेभन्ज्याङका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ३९ औं मिनेटमा शोखरुखले गोल गर्दा डाजर्लिङ क्लब २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ७४ औं मिनेटमा सेभिल्लेले फ्रिकिकमार्फत् सोझै गोल गर्दा मानेभन्ज्याङ ३–१ ले विजयी भयो ।