एनेन्सी । टोटनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।
टोटनहमले घरेलु मैदानमा साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।
टोटनहम हटस्पर रंगशालामा भएको खेलमा एकमात्र निर्णायक गोल ह्यारी केनले १५ औं मिनेटमा गरेका थिए ।
उक्त गोलसंगै केनले स्पर्सका रुपमा समेत चिनिने टोटनहमका लागि क्रीतिमान समेत कायम गरे ।
केनले सबैखाले गरि स्पर्सका लागि २६७ गोल गरे । योसंगै केन टोटनहमको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले स्पर्सका लेजेण्डरी खेलाडी जेम्मी ग्रेयाभ्सको क्रीतिमानलाई भंग गरेको हो।
त्यस्तै, इंग्याल्याण्ड राष्ट्रिय टोलीका कप्तानसमेत रहेका केनको उक्त गोल प्रिमियर लिगमा २०० औं गोल समेत रह्यो ।
महत्वपूर्ण जितसंगै टोटनहमले २२ खेलमा ३९ अंक जोडेको छ । टोटनहम लिग तालिकाको पाँचौं स्थानमा छ ।
यता, स्पर्ससंग पराजयसंगै साविक विजेता सिटीको उपाधि रक्षा अभियानमा धक्का लागेको छ । यदि स्पर्सलाई जितेको भए सिटीले लिग लिडर आर्सनलसंग अंक दुरी घटाउने थियो ।
पेपे ग्वाडीओलाको टिमले २१ खेलमा ४५ अंक जोडेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको सिटी एक खेल कम खेलेको आर्सनल भन्दा ५ अंकले पछि रहँदा तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको भन्दा मात्र ३ अंकले अगाडी रह्यो ।
त्यसअघि आईतवार राति नै भएको पहिलो खेलमा नटिङघम फोरेस्टले लिड्स युनाइटेडमाथि १–० को जित निकाल्यो ।
फोरेस्टको घरेलु मैदान द सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्नान जोनसनले १४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
लिड्सले खेलमा फर्कन केहि राम्रा अवसर सिर्जना गरे तापनि जनवरी ट्रान्फरमा पिएसजीबाट लोनबाट फोरेस्ट आएका गोलकिपर केलियर नभास बाधक बने ।
नाभासले प्रिमियर लिगको डेब्यु खेलमा क्लिन सिट राख्दै फोरेस्टलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।
जितसंगै फोरेस्ट २१ खेलमा २४ अंक जोड्दै तालिकाको १३ औं स्थानमा उक्लिएको छ ।
पराजित लिड्स युनाइटेडको २० खेलमा १८ अंक छ । लिड्स तालिकाको १७ औं स्थानमा झरेको छ ।