
भक्तपुर । नेपाल पहिलो संस्करणको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधवार भएको क्वाटरफाइनल खेलमा कुवेतमाथि ८ विकेटको जित निकाल्दै नेपाल महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
मलेसियास्थित युकेएम क्रिकेट ओभलमा भएको खेलमा ७४ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल प्रभावित भएपछि नेपालले नेपालले नयाँ विजयी लक्ष्य पायो ।
डिएलएस पद्दतीमार्फत् नेपालले १२ ओभरमा ५० रन बनाउन पर्ने भयो ।
उक्त लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गर्दै २२ रन जोडेर अविजित रहँदा ओपनर ब्याटर सिता राणामगरले १५ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोड्दै पेविलियन फर्किन् ।
त्यस्तै, कविता जोशी ४ रनमा अविजित रहँदा अर्का ओपनर कविता कुनवर १ रनमा रनआउट भइन् ।
नेपालले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
कुवेतका लागि मर्याम ओमारले १.५ ओभर बलिङ गर्दै ११ रन दिएर १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ७३ रन जोड्यो ।
कुवेतका लागि ओपनर ब्याटर प्रियदा मुरलीले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोड्दा बालासुब्रमनी शान्ती र खादिजा खलिल समान १३–१३ रन जोडेर रनआउट भइन् ।
त्यस्तै, विकेटकिपर सुचिथा दिसा ५, जिफा जिलानी २ रनमा आउट हुँदा कुवेतका ३ अन्य ब्याटर शुन्य रनमा पेविलियन फर्किन् ।
यता, मारिया जस्भी ४ र मदिहा जुबेरी २ रनमा अविजित रहिन् ।
कुवेतले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
कुवेतलाई सस्तैमा समेत्न नेपालका लागि सिता राणामगरले ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर ३ विकेट लिँदा कविता कुनवरले ४ ओभर बलिङ गर्नेक्रममा ९ रन दिएर २ विकेट लिइन् ।
त्यस्तै, रुविना क्षेत्रीले ४ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै १० रन दिएर २ विकेट लिइन् ।
अब नेपालले सेमिफाइनलमा मलेसियासंग प्रतिस्पर्धा गर्ने भएको छ ।