एजेन्सी । इटालियन फुटबल महासंघले इटालियन सिरी ए महारथी क्लब युभेन्टसको जारी लिगमा १५ अंक घटुवा गरेको छ ।
खेलाडी ट्रान्सफर बजारमा खरिद विक्री लगायत अन्य विषयमा पारर्दशी हिसाव किताव नदेखाएको कारण जनाउँदै युभेन्टसमाथि कारवाही गरिएको हो ।
कारवाहीसंगै युभेन्टस सिरी एको १० औं स्थानमा झरेको छ । यो भनेको रेलिगेशन क्षेत्रबाट १३ अंकले मात्र अगाडी हो भने च्याम्पियन्स लिग क्षेत्रबाट १२ अंकले पछि हो । यसअघि तेस्रो स्थानमा रहेको थियो ।
सोही विषयमा युभेन्टसका पूर्व अध्यक्ष एन्ड्रेया एग्नेली माउरिजियो आरिभावेनीलाई २ वर्षको प्रतिबन्ध लगाउँदा पूर्व स्पोर्टिङ डाइरेक्टर फावियो पाराटिसीलाई साढे २ वर्षको लागि फुटबल गतिविधिबाट प्रतिबन्ध गरेको छ ।
युभेन्टसका अन्य पूर्वपदाधिकारीहरुलाई पनि फरक फरक प्रतिबन्ध लगाएको छ ।
इटालियन फुटबल महासंघका अनुसार क्लबले आर्थिक प्रतिवेदनमा हिसाब मिलाउन आफैं स्रोत जम्मा गरेको थियो ।
युभेन्टसले पछिल्ला सिजनमा थुप्रै खेलाडी अनुबन्धित गर्दा प्रतिवेदनमा हिसाब देखाउने क्रममा सहि प्रक्रिया नअपनाएको आरोप थियो ।
गत अप्रिल २०२२ मा युभेन्टस सहित १० क्लबमाथि छानविन गर्दै कुनै समस्या नरहेको निर्णय आएको थियो । तर युभेन्टस माथि पुनः छानविन गर्दा क्लबको गल्ती देखिएको महासंघले जनाएको छ ।
हाललाई यो प्रतिबन्ध इटालीको फुटबलमा मात्र लागु छ । तर महासंघले युइएफएए र फिफालाई पनि प्रतिबन्धको दायरा बढाउन अनुरोध गरेको छ ।
यता युभेन्टसले भने कारवाहीविरुद्व अपिल गर्ने जनाएको छ ।