
भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगअन्तर्गत २९ औं खेलमा विराटनगर सुपर किंग्सले काठमाडौं नाइट्समाथि ७ विकेटको जित हात पारेको छ ।
सनिवारको पहिलो खेलमा १५५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा १६० रन बटुल्दै पुरा गर्यो ।
विराटनगरका लागि कप्तान रोहित पौडेलले ४२ बलमा सर्वाधिक ६६ रनको अर्धशतकिय रन इनिङ्स खेले । रोहित खेलको प्लेयर अफ द म्याच पनि चुनिए ।
त्यस्तै, गौरान्सु शर्माले अविजित रहँदै ५१ रनको अर्धशतकिय पारी खेले । हुसेन तलातले २१ रन जोड्दा अर्जुन साउदले १० बनाए । यता, विवेक यादव १० रनमा अविजित रहे । विराटनगरले अतिरिक्त रुपमा २ रन पाएको थियो ।
काठमाडौंका लागि अभिनास बोहराले २ विकेट लिए ।
त्यसअघि क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।
काठमाडौंका लागि एलेक्स ब्लाकले २६ बलमा ३४ रन जोड्दा सन्तोष कार्कीले पनि ३४ बल खेल्दै ३४ रन जोड्यो ।
त्यस्तै, सन्दिप रजालीले ३० रनको योगदान गर्दा कप्तान ज्ञानेन्द्र मल्ल २२ रनमा अविजित रहे ।
विराटनगरका लागि राज ननानले ४ विकेट लिँदा नन्दन यादव र रोहित पौडेलले १–१ विकेट लिए ।
काठमाडौंलाई पराजित गरेसंगै विराटनगरले प्लेअफको इलिमिनेटरमा स्थान पक्का गरेको छ । विराटनगरले १० खेलमा ५ जित र ५ मा हार बेर्होदै १० अंक जोडेको छ ।
यता पराजित काठमाडौंको १० खेलमा ८ अंक छ । उसले ४ खेलमा जित निकाल्दा ६ खेलमा पराजय भोगेको छ ।