भक्तपुर । काठमाडौंमा जारी नेपाल टि–२० क्रिकेट लिगको २३ औं खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्समाथि १०२ रनको फराकिलो जित हात पारेको छ ।
जितसंगै लुम्बिनीले क्वालिफायरमा स्थान पक्का गरेको छ । क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा बुधवारको पहिलो खेलमा लुम्बिनीले काठमाडौंलाई ८१ रनमा समेत्दै विशाल जित हात पारेको हो ।
लुम्बिनीले दिएको १८४ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं १५.४ ओभरमा अलआउट हुँदै मात्र ८१ रनमा समेटियो ।
काठमाडौंका लागि बसिर अहम्मदले २२, कमल सिंह ऐरीले १६ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडे । काठमाडौंका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौंलाई सस्तोमा समेट्न कुशल भुर्तेल, इसान पाण्डे र ह्यारी टेक्टरले समान २–२ विकेट लिए । त्यस्तै, किशोर महतो, विपुल शर्मा र हर्मित सिंहले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो ।
लुम्बिनीका लागि हरमीत सिंहले सर्वाधिक ७० रन बनाए । त्यस्तै, लाहिरु मिलान्थाले २६ रन बनाउँदा गुलशन झाले २१ रन बनाए ।
ह्यारी टेक्टर १७ रनमा आउट भए । यता, कुशल भुर्तेलले १५, अनिलकुमार शाहले १६ रन जोडे । त्यस्तै, विपुल शर्मा ५ रनमा अविजित रहे ।
काठमाडौंका लागि तीव्र अभिनाश बोहराले ३ विकेट लिए । बसिर अहमदले २ विकेट लिँदा अनिल खरेलले १ विकेट लिए।