
एजेन्सी । इंग्लिस क्लब चेल्सीले युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युईएफए कन्फेरेन्स लिगको प्लेअफ खेलमा सेर्भेट्टमाथि सहज जित निकालेको छ ।
विहिवार राति भएको प्लेअफअन्तर्गत पहिलो लेग खेलमा प्रिमियर लिग क्लब चेल्सीले स्विज क्लब सेर्भेट्टमाथि २–० को जित निकालेको हो ।
लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिड्ज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिस्टोफर एनकुन्कु र नोनी मादुइकेले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५० औं मिनेटमा एनकुन्कुले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई १–० ले अघि बढाए ।
त्यसपछि ७६ औं मिनेटमा मादुइकेले गोल थप्दा चेल्सी २–० ले विजयी भयो ।
प्लेअफअन्तर्गत् दोस्रो लेग खेल स्विज क्लबको घरेलु मैदानमा अगस्ट ३० तारिखमा हुनेछ ।