भक्तपुर । फिफा विश्वकपको समूह ‘एच’ को दोस्रो खेलमा पोर्चुगलले घानामाथि रोमाञ्चक जित हात पार्दै विजयी सुरुवात गरेको छ ।
विहिवार राति भएको रोमाञ्चक खेलमा युरोपेली राष्ट्र पोर्चुगलले अफ्रिकी राष्ट्र घानामाथि ३–२ को जित हात निकालेको हो ।
पोर्चुगलको जितमा क्रिस्चियानो रोनाल्डो, जाओ फिलिक्स र राफेयल लियोले गोल गोल गर्दा घानाका लागि एन्ड्रे इयु र ओसमान बुकारीले गोल गरे ।
९७४ रंगशालामा सबै गोल दोस्रो हाफमा निक्लेको थियो । पोर्चुगलका लागि खेलको ६५ औं मिनेटमा कप्तान क्रिस्चियानो रोनाल्डोको गोलमार्फत अग्रता लिएको थियो । रोनाल्डोलाई डीबक्सभित्र विपक्षी खेलाडीले लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहज गोल गरे । उक्त गोलसंगै रोनाल्डो पाँच छुट्टाछुट्टै विश्वकपमा गोल गर्ने खेलाडी भएका छन् ।
खेलको ७३ औं मिनेटमा एन्ड्रे इयुले गोल गर्दै घानालाई १–१ को बराबरीमा ल्याएका थिए । तर जाओ फिलिक्सले ब्रुनो फर्नान्डेजको पासमा खेलको ७८ औं मिनेटमा पुनः पोर्चुगललाई अग्रता दिलाए । लगतै ८० औं मिनेटमा राफेयल लियोले काउन्टर अट्याकमा गोल गर्दा पोर्चुगल ३–१ को अवस्थामा पुग्यो ।
त्यसपछि ८९ औं मिनेटमा ओसमान बुकारीले एक गोल फर्काउदा खेल ३–२ को रोमाञ्चक अवस्थामा पुग्यो । तर घाना खेलमा फर्कन भने सकेन र खेल पोर्चुगलको पक्षमा सकियो ।
जितसंगै पोर्चुगलले ३ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लियो ।