भक्तपुर । फिफा विश्वकपअन्तर्गत मंगलवारसम्म समूह ‘ए’ र ‘बी’ का खेलहरु सकिएका छन् । ‘ए’ बाट नेडरल्याण्ड समूह विजेता र सेनेगल उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गरिसकेका छन् ।
त्यस्तै, समूह ‘बी’ बाट इंग्ल्याण्ड विजेताका रुपमा र संयुक्त राज्य अमेरिका उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।
योसंगै कतार विश्वकपको अन्तिम १६ मा नेडरल्याण्डले संयुक्त राज्य अमेरिका र इंग्ल्याण्डले सेनेगलसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
यता बुधवार पनि समूह चरणका चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’ का खेलहरु हुँदैछन् । समूह ‘डी’ को खेल राति पौने ९ बजे सुरु हुँदैछ भने राति पौने १ बजे समूह ‘सी’ का खेलहरु हुनेछन् ।
अस्ट्रेलियाविरुद्व डेनमार्क
जारी विश्वकपमा समूह ‘डी’ मा रहेका यी दुई टोली दोस्रो चरण पुग्ने लक्ष्यसहित अल जानोव रंगशालामा आमनेसामने हुँदैछन् ।
यसअघि अस्ट्रेलियाले विश्वकपअन्तर्गत पहिलो खेलमा साविक विजेता फ्रान्ससंग ४–१ ले पराजय बेहोर्दा दोस्रो खेलमा ट्युनिसियालाई १–० ले पराजित गरेको थियो ।
आज डेनर्माकलाई पराजित गर्नसके वा डेनमार्कसंग बराबरी भएको अवस्थामा फ्रान्सले ट्युनिसियालाई रोक्दामात्र पनि एसियाली राष्ट्र अस्ट्रेलिया प्रतियोगिताको दोस्रो चरण प्रवेश गर्नेछ ।
त्यस्तै, युरोपेली राष्ट्र डेनमार्कलाई भने अन्तिम १६ को स्थान सुरक्षित गर्न स्पष्ट जितको आवश्यकता रहेको छ ।
यसअघिको दुई खेलमा डेनिस टोलीले ट्युनिसियासंग गोलरहित बराबरी खेल्दा फ्रान्ससंग २–१ ले स्तब्ध बनेको थियो ।
ट्युनिसियाविरुद्व फ्रान्स
कतार विश्वकपमा साविक विजेता फ्रान्ससंग इड्युकेशन सिटी रंगशालामा ट्युनिसिया मैदान उत्रिदैछ ।
समूहको पहिलो खेल डेनमार्कसंग गोलरहित बराबरी खेल्दै एक अंक जोडेको यस राष्ट्रले अस्ट्रेलियासंग भने १–० ले पराजय बेहोर्यो ।
आज बलियो फ्रान्सविरुद्व मैदान ओर्लिदै गर्दा ट्युनिसियाको लक्ष्य साविक विजेताविरुद्व अप्रत्यासित नतिजा हात पार्नु हुनेछ ।
यता, समूहका लगातार दुई खेल जितेको फ्रान्स भने ट्युनिसियामाथि पनि सहज जित हात पार्दै शतप्रतिशत नतिजाका साथ विजेता बन्दै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ ।
साउदी अरबियाविरुद्व मेक्सिको
एसियाली राष्ट्र साउदी अरयिबा जितको लक्ष्यका साथ मैदान ओर्लिदैछ ।
अरबी राष्ट्रले मेक्सिकोमाथि आज जित हात पार्न सके सहजै रुपमा दोस्रो चरण पुग्नेछ । यदी आज बराबरी खेलेमा भने अरुको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
साउदीले यसअघि एक खेलमा जित र अर्कोमा हारको नतिजा बेहोर्दै ३ अंक जोडेको छ ।
यता, मेक्सिकोलाई भने आज निश्चित जितको खाँचो छ । यदी आज मेक्सिकोले साउदीलाई हराउन सके दोस्रो चरण प्रवेश गर्ने सम्भावना रहन्छ । मेक्सिकोको दुई खेलमा एक अंक छ ।
यी दुई राष्ट्रवीचको खेल लुसाईल आइकोनिक रंगशालामा हुनेछ ।
पोल्याण्डविरुद्व अर्जेन्टिना
रोबर्टो लेवन्डोस्कीको कप्तनीमा रहेको पोल्याण्डले आज अर्जेन्टिनाविरुद्व बराबरी नतिजा ल्याए मात्र पनि दोस्रो चरणको सिट सुरक्षित गर्नेछ ।
पोल्याण्ड अहिले ४ अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ । उसले यसअघि एक खेलमा जित निकाल्दा अर्कोमा बराबरी नतिजा आत्मसाथ गरेको थियो ।
यता, उपाधि दाबेदार टोली अर्जेन्टिनालाई भने निश्चित जितले दोस्रो चरण प्रवेश गराउनेछ । बराबरी भएको अवस्थामा अर्को खेलको नतिजामा भरपर्नु पर्ने हुन्छ ।
सम्भवत लियोनल मेसीको कप्तानीमा रहेका राष्ट्र आज जित्नकै लागि मैदान प्रवेश गर्नेछ । यो खेल रंगशाला ९७४ मा हुनेछ ।