भक्तपुर । फिफा विश्वकपअन्तर्गत सोमबार समूह ‘जी’ र ‘एच’ का दोस्रो चरणका चार लिग खेलहरु हुँदैछन् ।
क्यामरनविरुद्व सर्विया
जारी विश्वकपमा समूह ‘जी’ मा रहेको यी दुई टोली आज आमनेसामने हुँदैछन् ।
यसअघि विश्वकपको पहिलो खेलमा यी दुबै टोलीले हार बेहोरेका थिए । अफ्रिकी राष्ट्र क्यामरन स्विजरल्याण्डसंग १–० ले स्तब्ध हुँदा सर्विया भने उपाधि दाबेदार टोली ब्राजिलसंग २–० ले पराजित भएको थियो ।
त्यसैले आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण छ । जारी विश्वकपको यात्रा लम्याउनका लागि पनि यी दुई टोलीलाई स्पष्ट जितको आवश्यकता रहेको छ ।
अल जानोव रंगशालामा हुने यी दुई टोलीको भिडन्त रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
दक्षिण कोरियाविरुद्व घाना
एसियाली राष्ट्र दक्षिण कोरिया आज अफ्रिकी राष्ट्र घानाविरुद्व मैदानमा ओर्लिदैछ ।
अघिल्लो खेलमा कोरिया उरुग्वेसंग गोलरहित बराबरीमा रोकिएको थियो । त्यस्तै, अफ्रिकी राष्ट्र घाना क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलसंग ३–२ ले पराजित भएको थियो ।
यस्तोमा दोस्रो चरणको सम्भावना कायम राख्न पनि यी दुई टोलीलाई आज जित चाहिएको छ ।
एसियाली महारथीका रुपमा चिनिने कोरिया र अन्डर दगका रुपमा रहेको घानाबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गर्न सक्छौं ।
यी दुई राष्ट्रको खेल नेपाली समयअनुसार साँझको पौने ७ बजे इड्युकेशन सिटी रंगशालामा हुँदैछ ।
ब्राजिलविरुद्व स्विजरल्याण्ड
फिफा विश्वकपको सर्वाधिक पाँच पटकका विजेता राष्ट्र ब्राजिललाई योपल्ट पनि उपाधि दाबेदार टोलीका रुपमा लिइएको छ ।
नेइमार जुनियरको कप्तानीमा रहेको यस राष्ट्रले पहिलो खेलमा सर्वियामाथि २–० को जित हात पार्दै प्रतियोगितामा सुखद सुरुवात गरिसकेको छ ।
ब्राजिलका प्रमूख खेलाडी नेइमार भने घाइते भएका छन् । यद्यपी ब्राजिली टिम एकदम बलियो रहेको छ । आजको खेल जितेमा ब्राजिल दोस्रो चरण प्रवेश गर्नेछ ।
यता युरोपेली राष्ट स्विजरल्याण्डले पनि पहिलो खेल जितेको थियो । उसले क्यामरनलाई १–० ले पराजित गरेको थियो ।
स्विजरल्याण्ड आजको खेलमा कम्तीम बराबरी खेल्न चाहन्छ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे ९७४ रंगशालामा सुरु हुनेछ ।
पोर्चुगलविरुद्व उरुग्वे
आजको चौथौं तथा अन्तिम खेल हो यो । क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगाल आज उरुग्वेविरुद्व मैदान उत्रिदैछ ।
यसअघि पहिलो खेलमा घानामाथि ३–२ को जित प्राप्त गरेको पोर्चुगल आजको खेल जितेर अन्तिम १६ को स्थान एक खेल अगावै सुरक्षित गर्न चाहन्छ ।
उता उरुग्वेले भने पोर्चुगललाई स्तब्ध टुल्याउँदै विश्वकपको अघिल्लो यात्रा लम्याउन चाहन्छ । आजको खेल हारेमा या बराबरी खेलेमा आगामी यात्रा ओझेलमा पर्ने उरुग्वेले बुझेको छ ।
तसर्थ यस खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । यो खेल लुसाइल आइकोनिक रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुँदैछ ।