भक्तपुर । फिफा विश्वकपअन्तर्गत विहिवार समूह ‘इ’ र ‘एफ’ का खेलहरु सकिएका छन् ।
‘इ’ बाट एसियाली पावर हाउस जापन समूह विजेता र पुर्व विश्व विजेता स्पेन उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गरिसकेका छन् । यस समूहबाट चार पटक विश्वकप उचालिसको जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ ।
त्यस्तै, समूह ‘एफ’ बाट उत्तर अफ्रिकी राष्ट्र मोरोक्को समूह विजेताका रुपमा र गत संस्करणको उपविजेता राष्ट्र क्रोएसिया समूहको उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।
अब जापानले क्रोएसियासंग अन्तिम १६ खेल्नेछ भने स्पेनले मोरक्कोसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
यता शुक्रवार पनि समूह चरणका चार खेलहरु हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का खेलहरु हुँदैछन् । समूह ‘एच’ का खेलहरु राति पौने ९ बजे सुरु हुँदैछ भने राति पौने १ बजे समूह ‘जी’ का खेलहरु हुनेछन् ।
घानाविरुद्व उरुग्वे
जारी विश्वकपमा घानाले मिश्रित नतिजा हासिल गरेको छ । पहिलो खेलमा पोर्चुगलसंग ३–२ ले पराजित भएको अफ्रिकी राष्ट्रले दोस्रो खेलमा दक्षिण कोरियामाथि ३–२ कै जित हात पार्यो ।
समूहको अन्तिम खेल बाँकी रहँदा घाना ३ अंकका साथ समूह ‘एच’ को दोस्रो स्थानमा छ । एक खेल बाँकी छँदै पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । त्यसैले यस समूहबाट एउटामात्र राष्ट्र अघिल्लो चरण प्रवेश गर्नेछ ।
अब घानाले आजको जितेमा अन्तिम १६ मा स्थान बनाउने छ । यदि घानाले बराबरी खेलेको वा हार बेहोरेको अवस्थामा अर्को खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
उरुग्वेलाई भने दोस्रो चरण प्रवेशको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने हुन्छ । उरुग्वेको दुई खेलमा एक अंकमात्र छ । यो खेल अल जानोब रंगशालामा हुनेछ ।
दक्षिण कोरियाविरुद्व पोर्चुगल
एसियाली राष्ट्र दक्षिण कोरियाले पनि जारी विश्वकपमा मिश्रित नतिजा नै निकालेको छ ।
पहिलो खेलमा उरुग्वेसंग गोलरहित बराबरी खेलेको कोरिया दोस्रो खेलमा घानासंग ३–२ ले स्तब्ध भएको थियो ।
कोरियालाई पनि विश्वकपको सम्भावना कायम गर्न बलियो पोर्चुगलविरुद्व निश्चित जित नै चाहिएको छ ।
उता पोर्चुगल भने एक खेल अगावै दोस्रो चरणमा पुगिसकेकोले आजको खेल दवावरहित खेल्नेछ । यस्तोमा उसको लक्ष्य समूह विजेता बन्ने हुनेछ । यो खेल इड्युकेशन सिटी रंगशालामा हुनेछ ।
सर्वियाविरुद्व स्विजरल्याण्ड
युरोपेली राष्ट्र सर्वियाले जारी प्रतियोगितामा एक खेल बराबरी खेलेको छ ।
पहिलो खेलमा ब्राजिलसंग २–० ले पराजित भएको सर्वियाले दोस्रो खेलमा क्यामरनसंग रोममाञ्चक ३–३ को बराबरी खेलेको थियो । यदि स्विजरल्याण्डलाई पराजित गर्न सके उसको अन्तिम १६ को सम्भावना कायम रहनेछ ।
यता स्विजरल्याण्डलाई भने आजको खेलमा जित प्राप्त भए दोस्रो चरण पक्का हुनेछ । बराबरी भएको अवस्थामा समूहको अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ । यो खेल ९७४ रंगशालामा हुनेछ ।
क्यामरनविरुद्व ब्राजिल
दक्षिण अफ्रिकी राष्ट्र क्यामरनले पनि जारी विश्वकपमा एक खेल बराबरी र अर्कोमा हार बेहोरेको छ ।
पहिलो खेलमा स्विजरल्याण्डसंग १–० ले पराजित भएको उसले दोस्रो खेलमा ३–३ को बराबरी खेलेको थियो ।
दोस्रो चरणको सम्भावना कायम गर्न आज क्यामरनलाई बलियो ब्राजिलविरुद्व जित्नै पर्ने दवाव छ ।
उता उपाधि दाबेदार ब्राजिल भने एक खेल अगावै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । जारी विश्वकपमा उसले लगातार दुई खेलमा जित हात पारेको हो ।
पहिलो खेलमा सर्वियामाथि २–० को जित हात पारेको पाँच पटकका विश्वकप विजेताले दोस्रो खेलमा स्विजरल्याण्डमाथि १–० को जित हात पारेको हो ।
आज लुसाइल आइकोनिक रंगशालामा हुने खेलमा समूह विजेता हुने लक्ष्यका साथ ब्राजिल मैदान उत्रिनेछ ।