
भक्तपुर । फिफा विश्वकपअन्तर्गत आइतवार समूह ‘इ’ र ‘एफ’ का दोस्रो चरणका चार लिग खेलहरु हुँदैछन् ।
जापानविरुद्व कोस्टारिका
जारी विश्वकपमा समूह ‘इ’ मा रहेको यी दुई टोली आज आमनेसामने हुँदैछन् ।
यसअघि विश्वकपको पहिलो खेलमा एसियाली पावरहाउस जापानले बलियो राष्ट्र जर्मनीमाथि सनसनीपूर्ण रुपमा २–१ को जित हात पारेको थियो ।
यता कोस्टारिकाले भने जापानको भन्दा विपरित पहिलो खेलमा स्पेनसंग ७–० को फराकिलो हार बेहोरेको थियो ।
आज जापानिज टोली उच्च मनोबलका साथ मैदान ओर्लिने पक्का छ । उसको मूख्य ध्यान आजको खेल जित्दै प्रि–क्वाटरफाइनलको स्थान सुनिश्चित गर्नु हुनेछ ।
यता, बिर्सनलायक पहिलो खेल खेलेको उत्तर अमेरिकी राष्ट्र कोस्टारिकालाई कतार बसाई लम्ब्याउन जापानविरुद्व जित्नैपर्ने दवाव छ ।
त्यसैले जापान र कोस्टारिकाबीचको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । यी दुई टोलीबीचको खेल अहम्मद विन अली रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
बेल्जियमविरुद्व मोरोक्को
वर्तमान विश्व फुटबलका चर्चित अनुहारहरुले भरिएको राष्ट्रिय टोली बेल्जियमविरुद्व मोरोक्को आज बेलुकी पौने ७ बजे कतारस्थित अल थुमामा रंगशालामा उत्रिदैछ ।
पहिलो खेलमा क्यानेडालाई हराएको बेल्जियम समूह ‘एफ’ कै बलियो टोली हो । यस्तोमा बेल्जियम उत्तर अफ्रिकी राष्ट्रविरुद्व सहजै जित हात पारेर अन्तिम १६ को सिट सिरक्षित गर्ने दाउमा हुनेछ ।
यता पहिलो खेल बराबरी खेलेको मोरोक्को पनि प्रतियोगितामा जिवितै रहन आज गर या मरको खेल खेल्नेमा निश्चित छ ।
क्रोएसियाविरुद्व क्यानेडा
सन् २०१८ को रसिया विश्वकपमा उपविजेता बनेको क्रोएसिया जारी विश्वकपमा जितको खोजीमा छ ।
पहिलो खेलमा मोरोक्कोसंग गोलरहित बराबरीमा रोकिन पुगेको यो युरोपेली राष्ट्रलाई आज जित अनिवार्य छ ।
यदि आज जित्न नसके समूह चरण कटाउन मुस्किल हुने क्रोएसियाली टिमले पनि बुझेको छ । त्यसैले क्यानेडाविरुद्व जितकै लागि क्रोएसिया खेल्नेछ ।
यता, पहिलो खेलमा बेल्जियमसंग पराजित भएको क्यानेडा आज राम्रो प्रदर्शन गर्ने कोसिसमा हुनेछ । समूह ‘एफ’ मा रहेको यी दुई राष्टबीचको खेल खालिफा अन्तराष्ट्रिय रंगशालामा राती पौने १० बजे हुनेछ ।
स्पेनविरुद्व जर्मनी
आजको चौथौं तथा अन्तिम खेल हो यो । जारी विश्वकपका दाबेदार यी टोलीहरु आज अल ब्याट रंगशालामा पौने १ बजे आमनेसामने हुँदैछन् ।
रोमाञ्चक हुने अपेक्षा गरेको यी दुई बलिया राष्ट्रको भिडन्त जारी विश्वकपको पहिलो ठूलो खेल हुनेछ ।
यसअघि पहिलो खेलमा स्पेनले कोस्टारिकामाथि ७–० को फराकिलो जित निकाल्दा जर्मनी भने जापानसंग २–१ ले पराजित भएको थियो ।
त्यसैले प्रतियोगितामा जिवित रहन पनि जर्मनीलाई आजको खेल जित्नै पर्ने दवाव छ । स्पेनलाई भने तुलनात्मक रुपान दवाव कम छ ।
तर यी दुई ठूला युरोपेली राष्ट्रको भिडन्त हेर्न लायक हुने अनुमान गर्न सकिन्छ ।