भक्तपुर । फिफा विश्वकपअन्तर्गत बुधवार समूह ‘सी’ र ‘डी’ का खेलहरु सकिएका छन् । ‘सी’ बाट उपाधि दाबेदार अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेताका रुपमा दोस्रो चरण प्रवेश गरिसकेका छन् ।
त्यस्तै, समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेताका रुपमा र एसियाली राष्ट्र अस्ट्रेलिया उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन् ।
अब अर्जेन्टिनाले अस्ट्रेलियसंग अन्तिम १६ खेल्नेछ भने उपाधि रक्षा अभियानमा रहेको फ्रान्सले पोल्याण्डसंग प्रतिस्पर्धा गर्ने तय भएको छ ।
यता बिहिवार पनि समूह चरणका चार खेलहरु हुँदैछन् । आज समूह ‘इ’ र ‘एफ’ का खेलहरु हुँदैछन् । समूह ‘एफ’ का खेलहरु राति पौने ९ बजे सुरु हुँदैछ भने राति पौने १ बजे समूह ‘इ’ का खेलहरु हुनेछन् ।
क्यानेडाविरुद्व मोरोक्को
उत्तर अमेरिकी राष्ट्र क्यानेडा जारी विश्वकपमा अंक विहिन रहेको छ । उसले जारी विश्वकपमा दुई खेल खेल्दा दुबैमा हार बेहोरेको छ ।
विश्वकपमा दोस्रो पटक सहभागी भइरहेको क्यानेडाले पहिलो खेलमा बलियो बेल्जियमसंग १–० ले पराजय बेर्होदा दोस्रो खेलमा क्रोएसियासंग ४–१ को फराकिलो हार बेहोरेको थियो ।
क्रोएसियासंगको हारसंगै क्यानेडाको विश्वकप यात्रा समूह चरणमै टुंगिने निश्चित भईसकेको छ ।
क्यानेडाले आजको खेलमा मोरक्कोमाथि राम्रो प्रदर्शन गरेर कतार विश्वकपको यात्रा सुखद रुपमा अन्त्य गर्न चाहन्छ ।
उता मोरक्कोको नजर भने अन्तिम १६ तर्फ छ । आज निश्चित जित निकाल्न सके उसले अन्तिम १६ को स्थान पक्का गर्नेछ ।
त्यस्तै, क्यानेडासंग बराबरी वा हार बेहोरेको खण्डमा क्रोएसिया र बेल्जियमको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
मोरोक्कोले जारी विश्वकपमा एक खेलमा जित र अर्कोमा बराबरीको नतिजा आत्मसाथ गरेको छ ।
पहिलो खेलमा र्कोएसियासंग गोलरहित बराबरी खेलेको उसले दोस्रो खेलमा बेल्जियममाथि २–० को जित हात पोरेको थियो ।
क्रोएसियाविरुद्व बेल्जियम
गत संस्करणको उपविजेता राष्ट्र क्रोएसिया ४ अंकका साथ समूह ‘एफ’ को शीर्ष स्थानमा छ ।
आज बेल्जियमविरुद्व मैदान उत्रिदै गर्दा दोस्रो चरण प्रवेशका लागि उसलाई बराबरी नतिजा नै काफी हुनेछ ।
क्रोएसियाले यसअघि मोरोक्कोसंग गोलरहित बराबरी खेलेको थियो भने क्यानेडामाथि ४–१ को जित निकालेको थियो ।
उता बेल्जियमको भने अवस्था फरक छ । स्टार खेलाडीहरुले भरिएको राष्ट्र बेल्जियमले समूह चरणका दुई खेलमा क्यानेडामाथि १–० को संर्घषपूर्ण जित रच्दा मोरोक्कोसंग २–० ले स्तब्ध भएको थियो ।
रेड डेभिल्सका रुपमा परिचित राष्ट्रलाई अन्तिम १६ को स्थान सुरक्षित गर्न आज निश्चित जितको बिकल्प छैन ।
कोस्टारिकाविरुद्व जर्मनी
कतार विश्वकपमा यी दुबै राष्ट्रले अपेक्षाकृत रुपमा प्रदर्शन गर्न सकिरहेको छैन ।
मध्य अमेरिकी महादेशको राष्ट्रले एक खेलमा जित र अर्कोमा हारको मिश्रित नतिजा हासिल गरेको छ ।
समूहको पहिलो खेलमा स्पेनसंग ७–० को फकाकिलो हार बेहोरेको कोस्टारिकाले दोस्रो खेलमा एसियाली राष्ट्र जापानमाथि १–० कोृ जित निकाल्यो ।
३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको उसलाई अघिल्लो चरण पुग्न जित चाहिएको छ ।
त्यस्तै, चारपटकको विश्व विजेता राष्ट्र जर्मनी कमजोर अवस्थामा छ । उसले जारी प्रतियोगितामा अहिलेसम्म जित हात परेको छैन ।
पहिलो खेलमा जपानसंग २–१ ले स्तब्ध हुँदा दोस्रो खेलमा स्पेनसंग १–१ को बराबरी खेल्यो ।
आज कोस्टारिकाविरुद्व ‘गर या मर’ को अवस्थामा रहेको यस राष्ट्रले दोस्रो चरण प्रवेशको सम्भावना कायम राख्न निश्चित जित निकाल्नु पर्ने छ ।
जापानविरुद्व स्पेन
एसियाली पावरहाउस जापानले आज स्पेनविरुद्व जित निकाल्न सके अन्तिम १६ मा प्रवेश पाउनेछ । बराबरी भएको अवस्थामा जर्मनी र क्रोएसियाको खेलको नतिजामा भरपर्नु पर्नेछ ।
जारी विश्वकपमा बलियो जर्मनीमाथि २–१ को जित हात पारेको जापानले दोस्रो खेलमा कोस्टारिकासंग पराजय बेहोर्यो ।
उता स्पेन भने तुलनात्मक रुपमा सहज अवस्थामा छ । उसले पहिलो खेलमा कोस्टारिकामाथि ७–० को फराकिलो जित हात पार्दा दोस्रो खेलमा जर्मनीसंग १–१ को बराबरी खेलेको थियो ।
जापानविरुद्व बराबरीको नतिजा नै दोस्रो चरण प्रवेशको लागि स्पेनलाई काफी हुनेछ ।