भक्तपुर । कतारमा हुने फिफा विश्वकप गुमाउने अर्का स्टार फुटबल खेलाडी साडियो माने भएका छन् । सेनेगलका कप्तानसमेत रहेका माने आइतबारदेखि सुरु हुने विश्वकपबाट बाहिरिएका छन् ।
दुई साताअघि बायर्न म्युनिखका लागि खेल्ने क्रममा घाइते हुन पुगेका मानेलाई सेनेगलले टिममा राखेको थियो । त्यसबखत मानेले विश्वकपको पहिलो खेलमात्रै गुमाउने बताएको थियो ।
तर बिहीबार उनको खुट्टाको शल्यक्रिया गरेपछि जमर्न क्लब बायर्नले मानेले विश्वकपका सबै खेल गुमाउने पुष्टि गरेको छ । चोटका कारण माने करिब तीन महिना मैदान बाहिर हुने पक्का भएको छ ।
सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्वकपबाट बाहिरिएको पुष्टि गर्दै अब विश्वकपमा टिमले उनको लागि खेल्ने बताएको छ ।
अफ्रिकन प्लेअर अफ दि इअर समेत रहेका मानेले गत वर्ष सेनेगललाई पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए ।
विश्वकपका लागि समूह ‘ए’ मा रहेको सेनेगलले नोभेम्बर २१ अर्थात आउने सोमबार नेडरल्याण्डसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।