एजेन्सी । साविक विजेता राष्ट्र कतारले १८ औं संस्करणको एएफसी एसियन कपको उपाधि रक्षा गरेको छ ।
सनिवार राति भएको फाइनल खेलमा आयोजक राष्ट्र समेत रहेको कतारले जोर्डनमाथि ३–१ को सहज जित निकाल्दै एसियाली फुटबलको शीर्ष प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको हो ।
लुसाइल रंगशालामा भएको उपाधि भिडन्त खेलमा कतारको जितमा अक्रम अफिफले ह्याट्रिक हाने । उनले सबै गोल पेनाल्टीमा गरे ।
अफिफ प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत भए । उनले प्रतियोगिता भरी ८ गोल गरे ।
यता, जोर्डनका लागि भने याजान अल नाइमतले सान्तोना गोल फर्काए ।
पहिलो हाफको २२ औं मिनेटमा अफिफले पेनाल्टीमा गोल गर्दै घरेलु टोली कतारलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ६७ औं मिनेटमा नाइमतले जोर्डनका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ७३ औं मिनेटमा अफिफले पेनाल्टीमै गोल थप्दा पुनः कतार २–१ ले खेलमा अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको पाँचौं मिनेटमा अफिफले ह्याट्रिक पूरा गर्दा कतार ३–१ ले विजयी भयो ।
त्यसअघि सन् २०१९ मा युएईमा भएको एसियन कपमा एसियाली पावर हाउस जापानलाई स्तब्ध पार्दै कतार एसियन च्याम्पियन बनेको थियो ।