एजेन्सी । अफगानिस्तानले एकदिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिजमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।

बुधवार राति भएको खेलमा एसियाली राष्ट्र अफगानिस्तानले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

ऐतिहासिक जितसंगै अफगानिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा १०७ रनको सामान्य विजयी लक्ष्य अफगानिस्तानले २६ ओभर खेल्नेक्रममा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

अफगानिस्तानको जितमा गुलबदिन नाइबले २७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर अविजित रहँदा अजमतुल्लाह ओमारजाइले २६ बल खेल्दै २ छक्का प्रहार गरेर २५ रन जोडेर अविजित रहे ।

त्यस्तै, कप्तान हश्मतुल्लाह शाहिदीले २९ बलमा १ चौका प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान रियाज हस्सनले ३५ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।

यता, रहमत शाह ८ रनमा आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर रहमानुल्लाह गुरबाज भने शुन्य रनमा पेविलियन फर्किए ।

अफगानिस्तानले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि बिजोर्न फर्चुनले २ विकेट लिँदा एडैन मार्कराम र लुङ्गी एनगिडीले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अलआउट हुँदै मात्र १०६ रन जोड्यो ।

दक्षिण अफ्रिकाका लागि वियान मुल्डरले ८४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रनको अर्धशतकिय पारी खेल्दा बिजोर्न फर्चुनले ३४ बल खेल्दै २ चौका प्रहार गरेर १६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान टोनी डि जोर्जीले १८ बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा विकेटकिपर केयल भिरेन्नेले ११ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै १० रन जोडेर पेविलियन फर्किए ।

यता, अर्का ओपनर रिजा हेनड्रिक्स ९ र कप्तान एडेन मार्कराम २ रनमा आउट हुँदा अन्य ४ ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।

नान्ड्रे बर्गर भने १ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

अफ्रिकाको ब्याटरहरुलाई धराशायी पार्न अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ४ विकेट लिँदा अल्लाह घजनफरले ३ र राशिद खानले २ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.