भक्तपुर । नेपाली फुटबलको सर्वोच्च लिग सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी तिब्र गतिमा जारी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाले उक्त कुरा जनाएको हो ।
एन्फा प्रवक्ता किरण राईले प्रेस विज्ञप्ती जारी गर्दै लिगको काउन्ट डाउन सुरु भएको भन्दै प्रतियोगिताको तयारी ५० प्रतिशत सकिएको र बाँकी काम तिब्र गतिमा अघि बढिरहेको बताउनुभयो ।
लिगको मार्केटिङ, बोर्डकास्टिङ र टिकेटिङको टेन्डर आह्वान गरिसकेको बताउनु हुँदै प्राविधिक कार्यहरु बाँकी रहेको बताउनुभयो ।
१४ वटा टिमको सहभागिता रहने लिग राउण्ड रोविनका आधारमा आगामी फागुन १९ गतेबाट हुने जनाइएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोस्थित मैदानमा लिगका खेलहरु खेलाइने भएको छ । लिगअन्तर्गत कुल १८२ खेलहरु हुनेछ ।
यसअघि नै एन्फाले लिगका पाँचौं चरणसम्मका खेल तालिका सार्वजनिक गरिसकेको जनाएको छ ।
यसपल्ट लिग विजेताले ट्रफीसंगै ७५ लाख रुपैया पुरस्कार पाउनेछ । त्यस्तै, दोस्रो हुने टिमले ५० लाख, तेस्रो हुने टिमले २५ लाख रुपैया पुरस्कार पाउनेछ ।
लिगमा फेयर प्ले जित्ने टिमले ३ लाख नगद पुरस्कार पाउनेछन् भने व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
लिगमा सर्वोकृष्ट हुने खेलाडीले ३ लाख पुरस्कार जित्दा उच्च गोलकर्ता खेलाडी र उत्कृष्ट गोलकिपरलाई २–२ लाख दिइनेछ ।
त्यस्तै, लिगको इमर्जिङ प्लेयरलाई १ लाख ५० हजारको व्यवस्था गरेको एन्फाले जनाएको छ ।
एन्फाले लिग खेल्ने १४ टिमलाई जनही १५ लाख रुपैया तयारी खर्च बापत दिइसकेको बताउँदै लिगका प्रत्येक खेल विजेता टोलीले ५० हजार पाउने जनाएको छ ।
यदि लिगका खेल बराबरीमा टुंगिए बराबरी खेल्ने दुबै टोलीले समान २५ हजार रुपैया पाउने जनाएको छ ।
त्यस्तै, प्लेयर अफ द म्याचले १० हजार पाउने जनाएको छ ।
एन्फाले माग २९ गतेसम्म ‘ए’ डिभिजन लिग खेल्ने खेलाडी दर्ता गरि सक्नुपर्ने पनि भनेको छ ।
एन्फाले लिगको लागत करिब १२ करोड हुने अनुमान गरेको छ ।