भक्तपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतवार भएका दुवै खेलहरु बराबरीमा सकिएको छ ।
च्यासल रंगशालामा भएको न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीचको खेल ३–३ गोलको बराबरीमा सकिँदा एन्फा कम्प्लेस सातदोबाटोमा भएको मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्डी क्लबबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
च्यासलमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि ५२ औं मिनेटमा लालनुनजामाले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
५७ औं मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दै एनआरटीलाई खेलमा २–१ ले अघि बढायो ।
लालनुनजामाले नै व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा एनआरटी खेलमा ३–१ ले अघि बढ्यो ।
त्यसपछि आक्रमक बनेको विभागिय आर्मीले ६८ औं मिनेटमा गोल फर्काउँदा खेल ३–२ को अवस्थामा पुग्यो । आर्मीका लागि सुदिल राईले गोल गरेका थिए ।
यता, ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत सोझै गोल गर्दै आर्मीलाई रोमाञ्चक ३–३ गोलको बराबरीमा ल्याए ।
तीन खेलमा ५ अंक जोडेको आर्मी लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ । एनआरटीले तेस्रो खेलमा आएर अंकको खाता खोलेको छ । एनआरटी तालिकाको ११ औं स्थानमा उक्लिएको छ ।
त्यस्तै, एन्फा कम्प्लेस सातदोबाटोमा साविक विजेता मछिन्द्र र मनाङले गोलरहित बराबरी खेलेसंगै मछिन्द्रको ३ खेलमा १ अंक भएको छ । मछिन्द्र तालिकाको १३ औं स्थानमा छ ।
मनाङ भने ३ खेलमा ५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।