
एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत १९ औं चरणका खेलमा एस्टन भिल्लामाथि रोमाञ्चक पुनरागमन जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा जारी सिजन उतारचढावपूर्ण खेल प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले राम्रो लयमा रहेको एस्टन भिल्लामाथि ३–२ को रोमाञ्चक पुनरागमन जित निकालेको हो ।
म्यानचेस्टरस्थित ओल्डट्राफेड रंगशालामा भएको खेलमा पहिलो हाफ दुई गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन जित निकाल्यो ।
खेलको २१ औं मिनेटमा जोन म्याकगिनको गोलमार्फत् एस्टन भिल्लाले सुरुवाती अग्रता लियो ।
त्यसको पाँच मिनेटपछि नै क्लिमेन्ट लेनग्लेटको पासमा लेन्डर डेनडोनकरले गोल थप्दा भ्रमणकारी टोली २–० ले अघि बढ्यो ।
त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा मार्कुस रासफोर्डको असिस्टमा आलेहान्ड्रो ग्रानाचोले गोल फर्काउँदै युनाइटेडलाई २–१ को अवस्थामा ल्याए ।
यता, ७१ औं मिनेटमा युवा फरवार्ड ग्रानाचोले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा खेल २–२ को बराबरीमा आयो ।
रोमाञ्चक खेलको ८२ औं मिनेटमा रासमुस होइलेन्डले गोल थप्दा युनाइटेड ३–२ ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै युनाइटेडले १९ खेलमा ३१ अंक जोड्दै लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
पराजित एस्टन भिल्लाको समान खेलमा ३९ अंक रहेको छ ।
भिल्ला हारका बाबजुत तालिकाको तेस्रो स्थानमा यथावत छ ।