
भक्तपुर । भारत र पाकिस्तानको टकराबले गर्दा अन्योलमा रहेको एसीसी एसिया कप हुने सम्भावना बढेको छ ।
सन् २०२३ को सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने तय भएको प्रतियोगितामा भारत सहभागी नहुने कुरा सार्वजनिक भएसंगै एसिया कप हुने नहुने अन्योल रहेको थियो ।
भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा खेल्न इन्कार गरेको थियो। भारतको उक्त कदमपछि पाकिस्तानले पनि भारतमा यसै वर्ष अक्टुबर–नवेम्बरमा हुने आईसीसी विश्वकपमा सहभागिता नजनाउने धम्की दिएको थियो।
त्यसपपछि भारतले एसिया कप नै पाकिस्तानबाट अन्यत्र सार्नु पर्ने अभिव्यक्ति सार्वजनिक गर्यो । दुई प्रतिस्पर्धी राष्ट्रको तनावले गर्दा एसिया कप नहुने सम्भावना बढेको थियो ।
तर, अहिले प्रतियोगिता सम्बन्धी सकारात्मक समाचार प्रकाशित भएको छ । खबर अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भारतको खेल तटस्थ मैदानमा गर्ने प्रस्ताब अघि सारेको समाचार बाहिरिएको छ ।
पाकिस्तानले तटस्थ मैदानका रुपमा श्रीलंकामा भारतको खेल गराउने प्रस्ताव एसियाली क्रिकेट परिषद् (एसीसी) लाई गरेको छ ।
जसमा एसीसीले पनि उक्त प्रस्तावमा सकारात्मक रहेको समाचार बाहिरिएको छ ।
पाकिस्तानले अघि सारेको हाइब्रिड मोडललाई एसीसीले आगामी बैठकबाट अनुमोदन गर्ने तयारी गरेको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।
६ एसियाली राष्ट्रको सहभागी रहने प्रतियोगितामा नेपाल पहिलोपल्ट सहभागी हुने तयारीमा छ ।