भक्तपुर । एसियाली महिला क्रिकेटको शीर्ष प्रतियोगिता एसीसी महिला एसिया कपका लागि प्रारम्भिक नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला एसिया कपका लागि इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
घोषित टोलीमा इन्दु बर्मासंगै पुर्व कप्तान रुविना क्षेत्री, विकेटकिपर काजोल श्रेष्ठ, सिता राणामगर, कविता कुनवार, सम्झना खड्का, कविता जोशी, पुजा महतो, डोली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, विकेटकिपर रुवि पोडार, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खाडिया, अप्सरी बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगिता राई, आरती महतो, साबित्री धामी, यशोदा बिष्ट, सोनी पाख्रिन र हिलिशा गुरुङ समेतिएका छन् ।
प्रारम्भिक टोलीलाई एसिया कपको तयारीका लागि बन्द प्रशिक्षण गराउने क्यानको तयारी छ ।
श्रीलंकामा हुने टि–२० ढाँचाको प्रतियोगितामा नेपालसहित ८ एसियाली राष्ट्रको सहभागिता रहनेछ ।
९ औं संस्करणको प्रतियोगिता आउँदो जुलाई १९ देखि २८ तारिखसम्म सञ्चालन हुने तालिका रहेको हुनेछ ।