भक्तपुर । फिफा विश्वकपको समूह ‘बी’ को दोस्रो चरणको लिग खेलमा वेल्सलाई इरानले पराजित गरेको छ ।
बराबरीतर्फ उन्मुख खेलको अतिरिक्त समयको अन्त्यतिर गरेको दुई गोलमार्फत एसियाली राष्ट्रले महत्वपूर्ण जित हात पारेको हो ।
इरानका लागि खेलको ९८ औं मिनेटमा रोजवे चेस्मीले गोल गर्दा लगत्तै रमिन रेजाईनले अर्को गोल थपेका थिए ।
यसअघि अहम्मद विन अली रंगशालामा भएको रोमाञ्चक खेलमा दुबै टोलीले केहि राम्रा अवसर खेल फाल्दा पहिलो हाफ बराबरीमा टुंगिएको थियो ।
युरोपेली राष्ट्र वेल्सले खेलमा ६३ प्रतिशत नियन्त्रण राखेता पनि गोलको अवसर भने एसियाली राष्ट्र इरानले बढी सिर्जना गर्यो ।
दोस्रो हाफ निरन्तर आक्रमण बुनेको इरानले २१ सट प्रहार गरेको थियो । जसमा ६ सट टार्गेटमा थियो । यता वेल्सले भने विपक्षी पोस्टमा १० प्रहार गर्दा ३ सट टार्गेटमा थियो ।
निक्कै नै प्रतिस्पर्धात्मक खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेतिएको थियो । वेल्सका गोलकिपर वायन हिनेस्कीले रातो कार्ड पाउँदै बाहिरिदा वेल्स १० खेलाडीमा समेतिन बाध्य बनेको थियो ।
हेनेस्कीले काउण्टर अट्याकमा आएका इरानी खेलाडीलाई रोक्ने क्रममा फाउल गर्न पुगेका थिए । जसलाई भिएआरको सहायता लिदै रेफ्रीले रातो कार्ड देखाएका थिए । जारी विश्वकपमा हिनेस्कीले पाएको उक्त कार्ड पहिलो रातो कार्डसमेत हो ।
महत्वपूर्ण जितसंगै इरानले दुई खेलमा ३ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ३ अंक भएको इंग्ल्याण्ड गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । पराजित वेल्सको भने दुई खेलमा १ अंक छ ।