एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत समूह ‘डी’ को खेलमा जापानले इन्डोनेसियामाथि सहज जित हासिल गरेको छ ।

बुधवार भएको समूह ‘डी’ अन्तर्गत पहिलो खेलमा एसियाली पावर हाउस जापानले इन्डोनेसियामाथि ३–१ को जित हासिल गरेको हो ।

अल थुमामा रंगशालामा भएको खेलमा जापानको जितमा अयासे वेदाले दुई गोल गर्दा अर्को गोल इन्डोनेसियाका जस्टिन हुबनेरको आत्मघाती मार्फत् प्राप्त भयो ।

यता, इन्डोनेसियाका लागि सान्डे वाल्सले सान्तोना गोल फर्काए ।

जापानका लागि अघिल्लो चरण प्रवेश सहज बनाउँन जित्नै पर्ने खेलमा छैटौं मिनेटमा वेदाले पेनाल्टीमार्फत् गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलायो ।

त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा रित्सु दोआनको असिस्टमा वेदले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा जापान २–० ले अघि बढ्यो ।

रोमाञ्चक खेलको ८८ औं मिनेटमा इन्डोनेसियाका जस्टिनले आत्मघाती गोल गर्दा जापान ३–० ले अघि बढ्यो ।

त्यसको तीन मिनेटपछि नै सान्डेले इन्डोनेसियाका लागि सान्तोना गोल फर्काउँदा खेल ३–१ ले सकियो ।

सहज जितसंगै एसियाको सर्वाधिक सफल राष्ट्र जापानले समूह चरणमा दुई खेलमा जित र एकमा हारको नतिजाका साथ ६ अंक जोड्दै समूह उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्यो ।

उता, इन्डोनेसिया भने समूह चरणमा एक खेलमा जित र दुईमा हार बेहोर्दै ३ अंकका साथ समूह तालिकाको तेस्रो स्थानमा रह्यो ।

जस्सिम बिन हमद रंगशालामा भएको समूह ‘डी’ कै अर्को खेलमा इराकले १० खेलाडीमा समेतिएको भियतनाममाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो ।

खेलको ४२ औं मिनेटमा खुवाट भान खाङको असिस्टमा बुइ होआङ भेइट अहले गोल गर्दै भियतनामलाई सुरुवाती अग्रता दिलाए ।

यता, पहिलो हाफको इन्जुरी समयमा खुवाट भान खाङले दोहोरो पँहेलो कार्ड खाँदा भियतनाम १० खेलाडीमा समेतियो ।

्दोस्रो हाफको ४७ औं मिनेटमा इराकका अली जसिमको पासमा रेबिन सोलाकाले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि ७३ औं मिनेटमा अली जसिमकै पासमा आमेन हुसेनले गोल थप्दा इराक खेलमा २–१ ले अघि बढ्यो ।

यता, ८३ औं मिनेटमा आमेन हुसेन पेनाल्टीमा चुक्दा इराक अग्रता बढाउन चुक्यो ।

निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा भियतनामका एनगुएन क्वाङ हाईले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।

त्यसपछि इन्जुरी समयको १२ औं मिनेटमा आमेन हुसेनले पेनाल्टीमार्फत् गोल गर्दा इराक ३–२ ले विजयी भयो ।

प्रतिस्पर्धात्मक जितसंगै इराकले समूह चरणमा शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

भियतनामले भने समूह चरणका सबै खेलमा हार बेहोर्दै समूह तालिकाको पुच्छारमा रहँदै प्रतियोगिताबाट बिदा भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.