एजेन्सी । अल नासेरले एएफसी च्याम्पियन्स लिग इलिटमा अल एनमाथि फराकिलो जित हासिल गरेको छ ।
मंगलवार राति भएको एसियाली क्लब फुटबलको शीर्ष प्रतियोगिताअन्तर्गत खेलमा साउदी क्लब अल नासेरले युएई क्लब अल एनमाथि ५–१ को फराकिलो जित हासिल गरेको हो ।
साउदी क्लबको घरेलु मैदान अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन तालिस्काले दुई गोल गर्दा कप्तान क्रिस्टियानो रोनाल्डो र वेस्लेले एक–एक गोल गरे ।
अर्को एक गोल भने अल नासेरका लागि भ्रमणकारी टोलीका फाबियो कार्डोसोले आत्मघाती उपहार दिए ।
यता, अल एनका लागि पनि अल नासेरका खेलाडी बेन्टोले एक आत्मघाती उपहार दिए ।
खेल सुरु भएको पाँचौं मिनेटमा मोहमेद सिमकानको पासमा तालिस्काले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै साउदी क्लबलाई २–० ले अघि बढाए ।
यता, ३७ औं मिनेटमा फाबियोले आत्मघाती गोल गर्न पुग्दा अल नासेर ३–० ले अघि बढ्यो ।
तर, दोस्रो हाफको ५६ औं मिनेटमा साउदीका बेन्टोले पनि आत्मघाती गोल गर्दा खेल ३–१ को स्थितिमा आयो ।
खेलको ८१ औं मिनेटमा अंगेलो बोर्गेसको पासमा वेस्लेले गोल थप्दा अल नासेर ४–१ ले अघि बढ्यो ।
खेलको इन्जुरी समयको चौथौं मिनेटमा वेस्लेको पासमा तालिस्काले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा अल नासेर ५–१ ले विजयी भयो ।
फराकिलो जितसंगै अल नासेरले ४ खेलबाट १० अंक जोडेर एसियाली च्याम्पियन्स लिगको वेस्ट समूहको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित युएई क्लबको भने समान ४ खेलमा १ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।