एजेन्सी । स्पेनिस फुटबलको घरेलु नकआउट प्रतियोगिता सुपर कोपा दि इस्पानको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले सिजनको पहिलो उपाधि उचालेको छ ।
आइतवार राति भएको एलक्लासिको उपाधि भिडन्तमा बार्सिलोना ३–१ गोलअन्तरले विजयी भएको हो ।
किंग फहाद रंगशालामा भएको फाइनल खेलमा बार्सिलोनाका लागि खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि ४५ औं मिनेटमा रोर्बटो लेवान्डोस्कीले गोल गर्दा पहिलो हाफ बार्सिलोना २–० ले अघि बढेको थियो ।
यता ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा खेलमा बार्सिलोना ३–० ले अघि बढ्यो ।
खेलको अन्त्यतिर करिम बेन्जामाले मड्रिडका लागि एक गोल फर्काए तापनि त्यो सान्तोना गोलमात्र रह्यो ।