एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनल एभर्टनसंग स्तब्ध भएको छ ।
सनिवार भएको खेलमा लिग लिडर आर्सनल रेलिगेशन जोनबाट बच्न संघर्षरत एभर्टनसंग १–० ले स्तब्ध भएको हो ।
गुडिसन पार्क रंगशालामा भएको खेलमा एकमात्र निर्णायक गोल ६० औं मिनेटमा घरेलु टोलीका जेम्स तारकोस्कीले गरे । उनलाई ड्वीत म्याकनिले असिस्ट प्रदान गरेको थियो ।
केहि समय अघिमात्रै एभर्टनको प्रमूख प्रशिक्षकका रुपमा गुडिसन पार्क आएका सिन डेचेले आफ्नो नेतृत्वको पहिलो खेल जितेको छ ।
योसंगै आर्सनलको १३ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । एभर्टनसंगको पराजय गनर्सका रुपमा समेत चिनिने आर्सनलको जारी सिजनमा दोस्रो हार हो ।
प्रिमियर लिगमा २० खेल सकिँदासम्म आर्सनलले ५० अंक जोडेको छ । यता, एभर्टनले महत्वपूर्ण जितसंगै २१ खेलमा १८ अंक जोडेको छ । योसंगै एभर्टन लिग तालिकाको १७ औं स्थानमा उक्लिएको छ ।