एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) अन्तर्गत खेलमा सान फ्रान्सिस्को युनिकर्न्सले रोमाञ्चक जित हासिल गरेको छ ।
शुक्रवार विहान भएको खेलमा एमआई न्युयोर्कमाथि सान फ्रान्सिस्को युनिकर्न्सले ३ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
महत्वपूर्ण जितसंगै सान फ्रान्सिस्कोले ५ खेलबाट ७ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पराजित न्युयोर्कको भने ६ खेलबाट ३ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा १४९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको न्युयोर्कले निर्धारित २० ओभर खेल्नेक्रममा ७ विकेट गुमाउँदै मात्र १४५ रन जोड्न सक्यो ।
न्युयोर्कका लागि ओपनर ब्याट्सम्यान डेवाल्ड ब्रेभिसलृ ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर निकोलास पुरनले ३० बलमा २ चौका प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ह्याथ रिचार्ड्सले १३ बलमा ३ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा राशिद खानले १२ बल खेल्नेक्रममा १ चौका मद्दतमा १४ रन जोडेर अविजित रहे ।
यता, रोमारियो शेफर्ड ७, मोनाङ्क पटेल ५, कप्तान केइरन पोलार्ड ४ रनमा आउट हुँदा रुवेन क्लिन्टन शुन्य रनमा पेविलियन फर्किए ।
न्युयोर्कले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
न्युयोर्कमाथि रोमाञ्चक जित निकाल्न सान फ्रान्सिस्कोका लागि म्याट सर्टले ३ विकेट लिँदा ब्रोडे काउचले २ तथा ह्यारिस रौफ र हस्सन खानले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको सान फ्रान्सिस्को युनिकर्न्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १४८ रन जोड्यो ।
सान फ्रान्सिस्कोका लागि कप्तान कोरे एन्डरसनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा हस्सन खानले ३५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ४४ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, शेरफाइन रुथरफोर्डले १५ बलमा ३ चौका प्रहार गर्दै १४ रन जोडेर रनआउट हुँदा प्याट कमिन्सले १२ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
यता, म्याट सर्ट ४, फिन एलेन २ तथा विकेटकिपरजोश इंग्लिस र सञ्जय कृष्णामुर्ती १–१ रनमा पेविलियन फर्किदा ह्यारिस रौफ भने १ रनमा अविजित रहे ।
सान फ्रान्सिस्कोले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
न्युयोर्कका लागि ट्रेन्ट बोल्ट र नोस्थुश केन्जिगेले समान २–२ विकेट लिँदा रोमारियो शेफर्ड र राशिद खानले १–१ विकेट लिए ।