
एजेन्सी । संयुक्त राज्य अमेरिकाको शीर्ष घरेलु लिग मेजर लिग सकर (एमएलएस) अन्तर्गत खेलमा इन्टर मियामीले न्युयोर्क सिटी एफसीसंग बराबरी खेलेको छ ।
आईतवार विहान भएको एमएलएस खेलमा कप्तान लियोनल मेसीविना मैदान उत्रिएको इन्टर मियामी न्युयोर्क सिटी एफसीसंग १–१ को बराबरीमा रोकिएको हो ।
मियामीको घरेलु मैदान चेस स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि लुइस सुवारेजले गोल गर्दा भ्रमणकारी टोलीका लागि भने अलन्सो मार्टिनेजले गोल गरे ।
दुबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेल सुरु भएको १४ औं मिनेटमा जुलियान ग्रेस्सेलको असिस्टमा सुवारेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
तर, ३४ औं मिनेटमा कियटन पाक्र्सको असिस्टमा मार्टिनेजले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
दोस्रो हाफमा दुबै टोलीले गोलका लागि केहि राम्रा अवसरहरु सिर्जना गरेतापनि थप गोल भने गर्न सकेनन् ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।
मियामीले ७ खेलबाट ११ अंक जोड्दै लिग तालिकामा दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित न्युयोर्क सिटीको ६ खेलबाट ४ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।