भक्तपुर । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई पराजित गरेको छ ।
सोमवार विहान भएको खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ ।
महत्वपर्ण जितसंगै चितवनले अंक तालिकामा २ अंक जोड्को छ ।
काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा ११२ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै ११४ रन जोड्यो ।
चितवनलाई जिताउन सन्तोष कार्कीले ३० बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३८ रन जोडेर अविजित रहँदा लुक बेनकेनस्टेनले १७ बल खेल्नेक्रममा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान हस्सन इसाखिलले ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा भेट्रान खेलाडी सरद भेस्वाकरले २२ बल खेल्नेक्रममा ११ रन जोडेर अविजित रहे ।
यता, कुशल मल्लले ११ बलमा १ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा रबि बोपाराले ९ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।
अर्का ओपनर दिपक बोहरा भने ७ रनमा पेविलियन फर्किए ।
चितवनले अतिरिक्त रुपमा १२ रन जोड्यो ।
काठमाडौंका लागि शाहब आलामले ३ विकेट लिँदा जेरार्ड इरास्मस र ड्यान डाउटवेटले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १११ रन जोड्यो ।
काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा १ छक्का प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान माइकल लेभिटले १६ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ड्यान डाउटवेटले १९ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २० रन जोडेर अविजित रहँदा शंकर राणाले १७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर आउट भए ।
यता, जेरार्ड इरास्मस र राशिद खान ४–४, अर्का ओपनर तथा विकेटकिपर स्टेफेन इस्किनाजी २, तथा कप्तान करण केसी, भिम सार्की र शादाब आलाम समान १–१ रनमा पेविलियन फर्किए ।
दिपेस कँडेल १ रनमा अविजित रहे ।
काठमाडौंले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
काठमाडौंलाई सस्तैमा समेत्न चितवनका लागि सोहिल तानबिरले ४ ओभर बलिङ गर्नेक्रममा २१ रन दिएर सर्वाधिक ५ विकेट लिँदा रिजन ढकाल, कुशल मल्ल, अमर सिंह रौतेला र लुक बेनकेनस्टेनले समान १–१ विकेट लिए ।