
एजेन्सी । स्पेनिस महारथी बार्सिलोना एट्लेटिक क्लबसंग पराजित हुँदै कोपा डेल रेबाट बाहिरिएको छ ।
बुधवार राति भएको क्वाटरफाइनल खेलमा क्याटलान क्लब बार्सिलोना ला लिगा प्रतिद्वन्दी एट्लेटिक क्लबसंग ४–२ ले पराजित हुँदै स्पेनिस प्रतिष्ठित प्रतियोगिताबाट बाहिरिएको हो ।
एट्लेटिक क्लबको घरेलु मैदान सान मम्स रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन गोर्का गुरुजेटा, ओइहान सान्चट, इनाकी विलियम्स र निको विलियम्सले गोल गरे ।
पराजित टोलीका लागि भने रार्बट लेवान्डोस्की र लामिन यामलले गोल फर्काए ।
खेल सुरु भएको पहिलो मिनेटमै गोर्काले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, २६ औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ३२ औं मिनेटमा जुलेस कौन्डेको पासमा युवा फरवार्ड यामलले गोल थप्दा भ्रमणकारी टोली २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ४९ औं मिनेटमा निको विलियम्सको पासमा सान्चेटले एट्लेटिकोका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि निर्धारित ९० मिनेटको समयमा थप गोल निस्किएन र खेल अतिरिक्त ३० मिनेट लम्बियो ।
अतिरिक्त समयको हाफ टाइम अगाडी थपिएको इन्जुरी समयको दोस्रो मिनेटमा इनाकी विलियम्सले सनसनी गोल गर्दै घरेलु टोलीलाई ३–२ को अग्रता दिलाए ।
यता, खेलको अन्त्यतिर १२० मिनेटपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा इनाकी विलियम्सको पासमा निको विलियम्सले गोल थप्दा एट्लेटिक क्लब ४–२ ले विजयी भयो ।
उपाधि दाबेदार मानिएको बार्सिलोनाविरुद्व जित निकालेसंगै एट्लेटिक क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।