
एजेन्सी । एटलान्टाले एसी मिलानमाथि पुनरागमन जित हासिल गर्दै इटालियन प्रतिष्ठित प्रतियोगिता कोपा इटालियाको सेमिफाइनल प्रवेश गरेको छ ।
बुधवार राति भएको क्वाटरफाइनल खेलमा एटलान्टाले एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै एसी मिलानमाथि २–१ को जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
सान सिरो रंगशालामा भएको खेलमा ४५ औं मिनेटमा थियो हर्नान्डेजको पासमा राफायल लियोले गोल गर्दै घरेलु टोली मिलानलाई सुरुवाती अग्रता दिलाए ।
तर, त्यसको दुई मिनेटपछि नै इमिल होल्मको पासमा टिउन कोपमैनेयर्सले एटलान्टाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा कोपमैनेयर्सले नै पेनाल्टीमा गोल थप्दा भ्रमणकारी टोली एटलान्टा २–१ ले विजयी भयो ।
यता, प्रतियोगिताअन्तर्गत गयराति नै ओलम्पिको रंगशालामा भएको अर्को क्वाटरफाइनल खेलमा लाजियोले एएस रोमामाथि १–० को जित निकालेको छ ।
तीन खेलाडीले रातो कार्ड पाएको खेलमा माटिया जाकाग्नीले पेनाल्टीमार्फत ५१ औं मिनेटमा एकमात्र निर्णायक गोल गर्दै लाजियोलाई जित दिलाए ।
खेलको अन्त्यतिर रोमाका दुई तथा लाजियोका एक खेलाडीले रातो कार्ड पाए ।
जितसंगै लाजियो प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।