भक्तपुर । काठमाडौंमा जारी टि–२० सिरिज वेस्ट इन्डिज ‘ए’ ले जितेको छ ।
विहिवार भएको सिरिजअन्तर्गत चौथौं खेलमा नेपाललाई २८ रनले पराजित गर्दै भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले सिरिज एक खेल अगावै जितेको हो ।
पाँच खेलको सिरिजमा पहिलो खेल जितेको नेपालले त्यसपछिको तीन खेलमा पराजय बेहोर्यो ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा २१० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरको खेलमा अलआउट हुँदै १८१ रनमा समेतियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ चौका प्रहार गर्दै ८२ रनको अर्धशतकिय पारी खेल्दा दिपेन्द्र सिंह ऐरीले १४ बल खेल्दै २ चौका प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, गुलशन झाले १४ बलमा ३ चौका प्रहार गर्दै १९ रन जोड्दै आउट हुँदा सुन्दिप जोराले पनि १४ बल खेल्दै २ चौका प्रहार गरेर १९ रन जोडेर पेविलियन फर्किए ।
यता, अबिनाश बोहराले ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर अविजित रहँदा सोमपाल कामीले १० बलमा १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किए ।
कुशल मल्ल ४ र कुशल भुर्तेल १ रनमा आउट हुँदा विकेटकिपर आसिफ शेख र ललित राजबंशी शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।
नेपालमाथि जित निकाल्न वेस्ट इन्डिजका लागि म्याथ्यु फार्डेले ४ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिँदा हेडिन वाल्सले ४ ओभर बलिङ गर्दै २६ रन दिएर ३ विकेट लिए ।
त्यस्तै, फाबियान एलेनले ४ ओभर बलिङ गर्दै ३४ रन दिएर २ विकेट लिँदा गुदकेश मोटीईले ४ ओभर बलिङ गर्दै ५५ रन खर्चिएर २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै २०९ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि आन्ड्रे फ्लेट्चरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रनको अर्धतकिय पारी खेलेर अविजित रहँदा जोनसन चार्लिसले ३० बल खेल्नेक्रममा ३ चौका र ६ छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, फाबियान एलानले १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान अलिक अथानाज ५ र क्यासी कार्ती ४ रनमा पेविलियन फर्किए ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा २५ रन जोड्यो ।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै २३ रन दिएर २ विकेट लिँदा प्रतिश जिसीले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर १ विकेट लिए ।
अब सिरिजअन्तर्गत पाँचौं तथा अन्तिम खेल सनिवार हुनेछ ।