
एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा उल्भ्समाथि प्रतिस्पर्धात्मक जित निकालेको छ ।
विहिवार राति भएको खेलमा जारी सिजन उतारचढावपूर्ण अवस्थाबाट गुर्जिरहेको म्यानचेस्टर युनाइटेडले उल्भ्समाथि ४–३ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
उल्भ्सको घरेलु मैदान मोलिन्युएक्स रंगशालामा भएको रोमाञ्चक खेलमा एक समय सहज अग्रतामा रहेको युनाइटेड बराबरी उन्मुख पुगेर पनि अन्तिम समयमा जित निकाल्न सफल रह्यो ।
खेल सुरु भएको पाँचौं मिनेटमा रासमुस होइज्लुन्डको पासमा मार्कुस रासफोडले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि २२ औं मिनेटमा होइज्लुन्डले गोल थप्दा युनाइटेड पहिलो हाफसम्ममा २–० को सहज अग्रतामा रह्यो ।
दोस्रो हाफको ७१ औं मिनेटमा घरेलु उल्भ्सका लागि पाब्लो सराबियाले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
त्यसपछि ७५ औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका स्कट म्याकटोमनीले गोल थप्दै युनाइटेडलाई ३–१ को अग्रता दिलाए ।
तर, ८५ औं मिनेटमा घरेलु टोलीका लागि क्राइग डाउसनको पासमा म्याक्स किलम्यानले गोल फर्काउँदा खेल ३–२ को अवस्थामा आयो ।
यता, निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पाँचौं मिनेटमा उल्भ्सका लागि म्याथ्युस चुन्हाको पासमा पेड्रो नेटोले काउन्टर अट्याकमा गोल फर्काउँदा खेल ३–३ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै ओमारी फर्सनको असिस्टमा कोबी मिनोले दर्शनिय गोल गर्दै युनाइटेडलाई ४–३ को सनसनी जित दिलाए ।
महत्वपूर्ण जितसंगै युनाइटेडले २२ खेलमा ३५ अंक जोड्दै लिग तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
पराजित उल्भ्सको भने समान २२ खेलमा २९ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।