एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगाअन्तर्गत खेलमा भिएफएल उल्भ्सबर्गमाथि जित हासिल गरेको छ ।
बुधवार राति भएको खेलमा साविक विजेतासमेत रहेको बायर्न म्युनिखले भिएफएल उल्भ्सबर्गमाथि २–१ को जित हासिल गरेको हो ।
उल्भ्सबर्गको घरेलु मैदान भल्सवागन एरिना रंगशालामा भएको खेलमा म्युनिखका लागि ह्यारी केन र जमान मुसियालाले गोल गर्दा घरेलु टोलीका लागि म्याक्सिमिल्यान आर्नोल्डले एक गोल फर्काए ।
खेल सुरु भएको ३३ औं मिनेटमा थोमस मुलरको पासमा मुसियालाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ४३ औं मिनेटमा मुलरकै पासमा केनले गोल थप्दा म्युनिख २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको अन्त्यतिर ४५ मिनेटपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा आर्नोल्डले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
दोस्रो हाफमा दुबै टोलीबाट थप गोल नभएपछि खेल म्युनिखले जित्यो ।
जितसंगै म्युनिखले १५ खेल खेल्दा ३८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायम छ ।
पराजित उल्भ्सबर्गको भने १६ खेलमा १९ अंक सहित तालिकाको १० औं स्थानमा झरेको छ ।