एजेन्सी । उरुग्वेले कोपा अमेरिकामा बोलिभियामाथि फराकिलो जित निकालेको छ ।

शुक्रवार विहान भएको खेलमा उरुग्वेले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी बोलिभियामाथि ५–० को फराकिलो जित निकालेको हो ।

संयुक्त राज्य अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा उरुग्वेलाई जिताउन फाकुन्डो पिल्लिस्ट्री, डार्विन नुनेज, म्याक्सिमिलिनाओ अरौजो, फेडेरिको भालभाल्ड्रे र रोड्रिगो बेन्टानकुरले गोल गरे ।

खेल सुरु भएको ८ औं मिनेटमा रोनाल्ड अरांजोको पासमा पिल्लिस्ट्रीले गोल गर्दै उरुग्वेलाई सुरुवाती अग्रता दिलायो ।

त्यसपछि २१ औं मिनेटमा म्याक्सिमिलिनाओ अरौजोको पासमा नुनेजले गोल थप्दै उरुग्वेलाई २–० ले अघि बढाए ।

यता, दोस्रो हाफको ७७ औं मिनेटमा निकोलास दि ला क्रुजको असिस्टमा म्याक्सिमिलिनाओ अरौजोले गोल गर्दा उरुग्वे ३–० को सहज अग्रतासहित अघि बढ्यो ।

त्यसको चार मिनेटपछि नै ८१ औं मिनेटमा पिल्लिस्ट्रीको पासमा भालभाड्रेले गोल थप्दा उरुग्वे ४–० को फराकिलो अग्रतातर्फ अघि बढ्यो ।

खेलको अन्त्यतिर ८९ औं मिनेटमा जियोर्जियान दि अरास्केटाको असिस्टमा बेन्टानकुरले गोल थप्दा उरुग्वे ५–० ले विजयी भयो ।

एकपक्षिय फराकिलो जितसंगै उरुग्वेले समूह ‘सी’ मा २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

योसंगै उरुग्वेले समूह चरणमा एक खेल खेल्न बाँकी रहँदै अघिल्लो चरणको स्थान सुरक्षित गरेको छ ।

पराजि बोलिभियाले भने समान २ खेल खेलिसक्दा अंकको खाता खोल्न सकेको छैन ।

बोलिभिया भने समूह चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसअघि आजै विहान भएको पहिलो खेलमा पानामाले आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकालाई २–१ ले हरायो ।

जर्जियाको एन्टालान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा भएको खेलमा पानामाले एक गोलले पछि परेको अवस्थालाई पुनरागमन गर्दै २–१ को जित निकालेको हो ।

खेलको १८ औं मिनेटमा टिम वेहले रातो कार्ड पाउँदा अमेरिका १० खेलाडीमा समेतियो ।

तर पनि २२ औं मिनेटमा एन्टोनी रोबिन्सनको पासमा फोलारिन बलोगनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।

यता, २६ औं मिनेटमा केसार ब्लाकम्यानले पानामाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि दोस्रो हाफको ८३ औं मिनेटमा अबदिल एयार्जाको पासमा जोसे फजार्डोले गोल गर्दै पानामालाई २–१ ले जिताए ।

पुनरागमन जितसंगै समूह ‘सी’ मा रहेको पानामाको २ खेलबाट ३ अंक भएको छ ।

पानामा तालिकाको तेस्रो स्थानमा रहेको छ ।

पराजित अमेरिकाको पनि समान २ खेलबाट ३ नै अंक रहेको छ ।

तर, गोलअन्तरका आधारमा अमेरिका तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.