एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकामा उरुग्वेलाई स्तब्ध पार्दै कोलम्बिया फाइनलमा प्रवेश गरेको छ ।
विहिवार विहान भएको सेमिफाइनल खेलमा उरुग्वेलाई १–० ले स्तब्ध पार्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो ।
नर्थ कारोलिनाको चारलोटेस्थित ब्यांक अफ अमेरिका स्टेडियममा भएको खेलमा कोलम्बियालाई ऐतिहासिक जित दिलाउन जेफेरसन लेर्माले निर्णायक गोल गरे ।
लेर्माले खेलको ३९ औं मिनेटमा जेम्सको पासमा गोल गर्दै कोलम्बियालाई १–० ले अघि बढायो ।
यता, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ड्यानियल मुनोजले दोहोरो पँहेलो कार्ड खाँदा कोलम्बिया १० खेलाडीमा समेतियो ।
तरपनि दोस्रो हाफमा कोलम्बियाले अग्रता जोगाउँदै फाइनल यात्रा सुनिश्चित गर्यो ।
अब कोलम्बियाले उपाधिका लागि साविक विजेता अर्जेन्टिनासंग खेल्नेछ ।